Pokharapatra National Daily

पोखरा विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण

राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई चाइनाको निर्माण कम्पनी सीएएमसीईले हस्तान्तरण गरेको छ ।
नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार काठमाडौंमा आयोजित एक संक्षिप्त कार्यक्रमका बिच प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा विमानस्थलको सान्ँचो हस्तान्तरण गरिएको हो । परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई सांकेतिकरुपमा पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरिएको थियो । पोखरामा साँझ भएको भर्चुअलरुपमा भएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्माण कम्पनी सीएएमसीई इञ्जिनियरिङलाई कदरपत्र प्रदान गर्दै निर्माण कम्पनिलाई धन्यवाद समेत दिए । मन्त्री आलेले हालसम्म पोखरा विमानस्थलको मुख्य काम ९७ प्रतिशत सम्पन्न भएको बताउदै आगामी ६ महिनाभित्र विमानस्थल संचालनमा जनाए ।
उनले उक्त परियोजना गण्डकी प्रदेशको राजधानी पोखराको मात्र नभई नेपालकै आर्थिक विकासको सूचकको रुपमा रहेको बताए । मन्त्री आलेले अब पोखरामा ७ तारेसम्मको होटलहरु खोल्न निजी क्षेत्रलाई आग्रह गरे । पर्यटन व्यवसायीलाई पाँच सम्ममात्र नभै साततारे होटल खोल्न सुझाव दिदै आवश्यक पर्ने कुनै सहयोग गर्न समेत तयार रहेको उनले जनाए । सीएएमसीईका म्यानेजर डि हाई सिंले कम्पनीले विश्वभरका सय देशमा काम गर्दै आएको समयमै प्रोजेक्ट सम्पन्न गर्दै आएको दाबी गरे । उक्त परियोजना सम्पन्न गर्न सहयोग गर्ने प्रति उनले धन्यवाद समेत दिए । विमानस्थल दुवै देशका जनताबीचको सम्बन्धको प्रतीक रुपमा रहेको सिंले बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणका लागि महानिर्देशक प्रदीप अधिकारीले समग्रमा चार दशकदेखिको पोखरेलीको सपना पूरा भएको बताउदै आगामी केही महिना भित्र अर्को ठाँउमा ल्याण्डफिल्ड साइड स्थापना गर्न नसके विमानस्थल संचालन हुन नसक्ने बताए । समारोहमा गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवन, संचारमन्त्री विन्दुकुमार थापा, पर्यटन मन्त्री मणिभद्र शर्मा, संघीय सरकारका पूर्व कानुन मन्त्री यज्ञबहादुर थापा, उद्योगी व्यवसायी, स्थानीय लगायतको उपस्थिति रहेको थियो । करिब २२ अर्बको उक्त परियोजना जति सक्दो छिटो संचालनमा ल्याउन नसके विमानस्थलको खर्च धान्न कठिन हुने स्थानीयले बताए ।

प्रतिकृया दिनुहोस्