Pokharapatra National Daily

स्वतन्त्रताका नाममा पित पत्रकारिता गर्नुुहुँदैन–अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रताका नाममा पित पत्रकारिता गर्न नहुने बताउनुभएको छ ।
प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाअधिवेशनको शुक्रबार पोखरामा उद्घाटन गर्दै उहाँले आजको सञ्चार क्षेत्र राष्ट्रको समृद्धि, सुशासन र विकासका लागि हुनुपर्ने बताउनुभयो । सञ्चार क्षेत्रमा प्राप्त उपलब्धिलाई उपयोग गर्दै लोकतन्त्र र राष्ट्रियताका पक्षमा लाग्नु वर्तमानको आवश्यकता भएको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले नेपाली पत्रकारिता तथा प्रेस क्षेत्रको इतिहास छोटो रहेको उल्लेख गर्दै उहाँले स्वतन्त्र प्रेसको अवस्था अझै पछि रहेको स्पष्ट पार्नुभयो । स्वतन्त्रता एवम् हकअधिकारका क्षेत्रमा संविधानले स्पष्ट व्यवस्था गरेको चर्चा गर्दै उहाँले हक तथा अधिकारसँगै कर्तव्यको पालना गर्नेतर्फ पनि लाग्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले नवीनतम प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिँदै अतितमुखी नभई आगतमुखी हुनुपर्ने बताउनुभयो । पत्रकारिता राष्ट्रको समुन्नति र विकासका लागि हुनुपर्नेमा जोड दिँदै उहाँले प्रेस चौतारीले आगामी दिनमा आफूलाई अझै व्यवस्थित एवं एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । अध्यक्ष ओलीले देशको राजनीति जनादेशी र परामादेशीबीच दुई धारमा विभक्त भएको उल्लेख गर्दै आसन्न निर्वाचनका माध्यमबाट जनादेश विरोधीलाई परास्त गर्ने बताउनुभयो । उहाँले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्ने गरी सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा अध्यक्ष ओलीले प्रेस चौतारी नेपालबाट प्रदान गरिने पुरस्कारबाट प्रेस चौतारी नेपालका पूर्वअध्यक्षद्वय गगन विष्ट र राजेन्द्र अर्याल, उपाध्यक्ष शान्ति गुरुङ, लेखक तथा राजनीतिक विश्लेषक झलक सुवेदीसहित विभिन्न व्यक्तिलाई सम्मान गर्नुभयो भने प्रकाशित स्मारिकाको पनि विमोचन गर्नुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लोकतन्त्रका पक्षमा पत्रकारिता क्षेत्रले कलम चलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाली कांग्रेस सधँै लोकतन्त्र र प्रेस स्वतन्त्रका पक्षमा रहेको उहाँले बताउनुभयो । भोलिसम्म चल्ने महाधिवेशनमा देशभरबाट एक हजारभन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् । महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट विभिन्न ११ जनालाई सम्मान गर्नुभएको छ । प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको शुक्रबार पोखरा सभागृहमा भएको उद्घाटन समारोहमा उहाँले नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको हो । सो अवसरमा हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार–२०७७ बाट सङ्गठनका पूर्वअध्यक्ष राजेन्द्र अर्याल र २०७८ बाट पूर्वअध्यक्ष गगन विष्ट सम्मानित हुनुभएको थियो । त्यस्तै संस्थाद्वारा सञ्चालित अग्निशिखा पत्रकारिता पुरस्कार–२०७७ बाट कृष्णविनोद लम्साल र ०७८ बाट राजनीतिक विश्लेषक तथा पत्रकार झलक सुवेदीलाई प्रदान गरियो ।
डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार–२०७७ र ०७८ बाट क्रमशः सागर पण्डित र हिरा परियार, वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरस्कार केपी गौतम र अनुप तिवारी, चन्द्र न्यौपाने शान्तिराम कार्की पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङलाई सम्मान गरियो । त्यस्तै पदमलक्ष्मी–सावित्री स्मृति पत्रकारिता पुरस्कारबाट अब्दुलाह मियाँ र शिवराज भट्टलाई प्रदान गरिएको महाधिवेशन मूल आयोजक समितिका संयोजक एवं प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डेले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्