Pokharapatra National Daily

नेपाल ईन्जिनियर्स एसोसिएसन केन्द्रीय उपाध्यक्षमा पोखराका देउकाजीको उम्मेदवारी

नेपाल ईन्जिनियर्स एसोसिएसनको ३३ औं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन आउँदो शुक्रबार हुँदैछ । यतिबेला देशैभरका इन्जिनियरहरुलाई चुनाव लागेको छ । निर्वाचन मिति नजिकिंदै गर्दा उनीहरु आ–आफ्नो पक्षमा मत माग्न व्यस्त देखिन थालेका छन् ।
उक्त निर्वाचनमा पोखराका ईन्जिनियर देउकाजी गुरुङले केन्द्रीय उपाध्यक्षमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनले ई. डा.सुरज लामिछानेको बृहत राष्ट्रिय प्रगतिशिल गठबन्धनबाट चुनाव लड्न लागेका हुन् । पोखराका गुरुङ थापाथलीस्थित ईन्जिनियरिङ क्याम्पसका उप–प्राध्यापक, नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय उपाध्यक्ष, नेकपा एमाले केन्द्रीय अर्थ तथा योजना विभागका सदस्य, नेपाल भ्यालुएटर्स एशोसिएसनका सल्लाहकार, नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसनका उपाध्यक्ष हुन् । यसबाहेक पनि अन्य थुप्रै संघसंस्थाहरु आवद्ध भएका उनले ईन्जिनियरिङको क्षेत्रमा लामो अनुभव बटुलीसकेका छन् । देउकाजी सम्मिलित समितिको महासचिवमा ई. डा.भेषराज थापा, उप–महासचिवमा ई.शिवराम केसी, कोषाध्यक्षमा ई.डा.आनन्द सिंह तथा सह–कोषाध्यक्षमा ई.अर्जुन पौडेलले चुनाव लड्दै हुनुहुन्छ । गतवर्ष चैत २४ गते तोकिएको एसोसिन केन्द्रीय र प्रदेश समितिको निर्वाचन कोरोना महामारीका कारण पटक–पटक सारिदै आएको थियो । यसअघि ७ माघमा गर्ने भनिएको निर्वाचन प्रक्रिया पुनः सरेर २७ फागुनलाई तोकिएको हो । एसोसिएसनमा आबद्ध देशभर २१ हजार ६ सय ८० जना मतदाताले निर्वाचनमा मतदान गर्ने छन् ।

प्रतिकृया दिनुहोस्