Pokharapatra National Daily

सुनचाँदी व्यवसायी महासंघको नवौं स्थापना दिवस

नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशको आयोजनामा नेपाल सुनचाँदी व्यवसायी महासंघको नवौँ स्थापना दिवस सम्पन्न भएको छ ।
सो अवसरमा गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री माननीय डोबाटे विश्वकर्माको प्रमुख आतिथ्यतामा कर शिक्षा एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो । आन्तरिक राजश्व कार्यालयका कर अधिकृत मदन बहादुर केसी, कम्प्युटर अपरेटर दीपक पौडेलले कर सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए ।
यसैगरी अन्तक्र्रिया कार्यक्रममा सुनको आपूर्ती, सुनको अभाव, सुनको कालोबजारी र सुनलाई प्रदेश महासंघबाट अझैपनि वितरण गर्न नसकिएका समस्या लगायतका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा जिल्ला प्रमुख म्याग्दीका रामजीव विश्वकर्मा, महासंघका बाग्लुङका जिल्ला अध्यक्ष युवराज राजभण्डारी, पर्वत अध्यक्ष ठाकुर बि पौडेल, स्याङ्जा अध्यक्ष पूर्ण बहादुर विश्वकर्मा, तनहुँ अध्यक्ष विनोदकुमार विश्वकर्मा, लमजुङ अध्यक्ष देव बहादुर विश्वकर्मा, गोरखा अध्यक्ष टेक बहादुर विश्वकर्मा, नवलपुर अध्यक्ष गोविन्द सुनार लगायतले मन्तव्य सहित जिज्ञासा राख्नुभएको थियो । महासंघका सचिव केशबहादुर सुनारले महासंघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमले प्रदेशमा विद्यमान समस्याको जानकारी लिई समस्या समाधान पहल गर्न सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको थियो । यसैगरी उपाध्यक्ष निर्मल विश्वकर्माले सरकारले लाखौँ राजश्व तिर्ने व्यवसायीहरुको पक्षमा सहयोग नगरिरहेको बताउनुभयो ।
कार्यक्रमका सभापति चन्द्रकिशोर गौतमले प्रदेशका सबै जिल्लाहरुको समान सहभागितामा समस्या पहिचान र समाधानका लागि आवश्यक पहलकदमी चालिने बताउँदै कोभिड–१९ को विषम परिस्थितिमा व्यवसायीहरुको पहरेदार बन्न पुगेको महासंघ आगामी दिनमा पनि साथ र सहयोगका लागि तत्पर रहिरहने बताउनुभयो । महासंघका गण्डकी प्रदेश सभापति चन्द्रकिशोर गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका ९ वटै जिल्लाका अध्यक्ष लगायत ५ जना प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्री नियुक्त हुनुभएकोमा माननीय डोबाटे विश्वकर्मालाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा महासंघका सदस्य सुदेश चन्द्र राजभण्डारी, राजेन्द्र विश्वकर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । महासंघका गण्डकी प्रदेश सचिव रविन विश्वकर्माले सञ्चालन गरेको कार्यक्रममा उपसभापति कृष्ण बहादुर विश्वकर्माले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्