Pokharapatra National Daily

‘आँखा उपचार सेवा प्रभावकारी बन्दै’

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सीमित स्रोतसाधनका बाबजुद पनि नेपालमा आँखामा लाग्ने जस्तोसुकै रोगको उपचार प्रभावकारी बन्दै गएको बताउनुभएको छ ।
पोखरा महानगरपालिका–१७ घारीपाटनस्थित हिमालय आँखा अस्पतालको २९औँ वार्षिकोत्सव समारोहको मंगलबार उद्घाटन गर्दै उहाँले नेपाल सरकार तथा दातृनिकायको अथक प्रयासबाट स्थापना भएका अस्पतालबाट सर्वसाधारणको आँखा उपचारमा पहुँच पुगेको बताउनुभयो । ‘आँखाको सुरक्षासँगै उपचारमा संलग्न चिकित्सकलगायत सम्पूर्ण शक्ति जिम्मेवार भएर लाग्नुपर्दछ’, उहाँले भन्नुभयो । नेपालको पहिलो आँखा रोग विशेषज्ञ डा रामप्रसाद पोखरेलले २०२७ सालमा आँखाको उपचार र शल्यक्रिया शुरु गरेर अन्धकारमा रुपमलिएकालाई उज्यालो बाँढ्ने अभियानमा जुटेको सो अवसरमा प्रमुख गुरुङले स्मरण गर्नुभयो । उहाँले २०३८ सालमा अमेरिकी नागरिक डा विलेण्डले मुलुकको सबै क्षेत्रका आँखाका रोगीको १०८ नमूना सङ्कलन गरी परीक्षण गर्दा परेला फर्कने र मोतियाबिन्दु रोगको समस्या समाधान गर्न अभियान सञ्चालन भएको बताउनुभयो ।
नेपालको आँखाको उपचार पद्धति गुणस्तरीय भएका कारण भारतीय नागरिकसमेत उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो । उपचारमा आवश्यक अत्याधुनिक प्रविधि भित्र्याउन सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी आँखा अस्पतालले अप्थाम्लोजीको अध्ययन अध्यापन सञ्चालन गरेको उल्लेख गर्दै आगामी दिनमा आवश्यकताअनुसार अन्य विषय थपिने जानकारी दिनुभयो ।
आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा इलिया श्रेष्ठले अस्पतालले एक वर्षको अवधिमा एक लाख १७ हजार २८९ जनाको आँखा परीक्षण गर्नुका साथै पाँच हजार ५४२ जनाको शल्यक्रिया गरिएको जानकारी दिनुभयो । अस्पतालले यसअघि गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा २६ आँखा शिविर सम्पन्न गरी १० हजार ८३३ जनाको आँखा परीक्षण र एक हजार ३७६ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ । यस्तै १९ विद्यालयमा सञ्चालन गरेको शिविरबाट आठ हजार ३१८ जनाको आँखा परीक्षण गर्नुका साथै २३३ छात्रछात्रालाई निःशुल्क चश्मा वितरण गरेको थियो ।
गण्डकी, धौलागिरि र कर्णालीमा आँखाको उपचार गर्ने लक्ष्यका साथ तीन दशकअघि आइकेयर फाउण्डेशन नेदरल्याण्डको सहयोगमा ६० रोपनी जग्गा खरिद गरी आवश्यक भौतिक पूर्वाधार तयार गरिएको थियो । कार्यक्रममा नेत्रज्योति सङ्घ कास्कीका अध्यक्ष कृष्णबहादुर गुरुङ, सङ्घका पूर्वअध्यक्ष प्रा डा दिलबहादुर क्षेत्री, अस्पतालका अनुसन्धान अधिकृत पवन बराल, कर्मचारी युनियनका अध्यक्ष प्रेमकुमार नकर्मीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस्