Pokharapatra National Daily

वेगनास फेरोमा बेलायती राजदूतको साइकल यात्रा

बेलायती राजदूत निकोला पोलिटले पोखरा–३१ स्थित वेगनास फेरोमा साइकल यात्रा गर्नुभएको छ । साइकल सिटी पोखराको समन्वय र सुदृढ परियोजनाको आयोजनामा उहाँले सोमबार बिहान वेगनास फेरोको करिब १० किलोमिटर साइकल यात्रा गर्नुभएको हो ।
पोखरा महानगरपालिकाको कार्बन न्युटल डेभलपमेन्ट पथ कार्यक्रममा सहभागी हुन पोखरा आउनुभएका उहाँले कार्यक्रममा सहभागी हुनुपूर्व वेगनास फेरोमा साइकल यात्रा गर्नुभएको सृदृढ परियोजना पोखराका संयोजक होमनाथ गैह्रेले जानकारी दिनुभयो । उहाँका अनुसार पोलिटले सोमबार बिहान साइकल सिटीका २० जना सदस्यसँगै लेखनाथका विभिन्न तालको दृश्यावलोकनसहित साइकल यात्रा गर्नुभएको हो ।
पोलिटले आफ्नो साइकल यात्राबारे अनुभव सुनाउँदै भन्नुभयो, ‘सोमबारको बिहान निकै रमाइलो भयो । माछापुच्छ«ेको सुन्दर दृश्य हेर्दै वेगनास वरिपरिको साइकल यात्रा मेरो लागि निकै रोमाञ्चक र अविस्मरणीय बन्यो ।’ कोभिड–१९ का कारणले विश्वव्यापी रुपमै पर्यटन क्षेत्रमा गम्भीर असर पारेको जनाउँदै उहाँले अब भिसा प्रोटोकल लुज हँुदै र कोरोना संक्रमण दर घट्दै गएपछि नेपालमा पर्यटकको संख्या बढ्ने विश्वाससमेत व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले नेपाल बिट्रिसको कूटनीतिक सम्बन्ध धेरै राम्रो भएको र बेलायतमा नेपाललाई हेर्ने दृष्टिकोण पनि निकै सकारात्मक रहेको बताउनुभयो ।
उहाँले बिट्रिसहरूले नेपालका अग्लाअग्ला पहाड हेर्न र हिमाल आरोहण गर्न निकै मन पराउने गरेको बताउनुभयो । राजदूत पोलिटले जलवायु परिवर्तनले नेपालको हिमालयन क्षेत्रमा परेको असरलाई पनि बेलायत सरकारले निकै चासोका रूपमा लिएको बताउनुभयो । साइकल सिटी पोखराका अध्यक्ष अभिषेक कोइरालाले लेखनाथको लामास्वाराँदेखि रामदीवेगनास, सुन्दरीडाँडा हुँदै वेगनास फेरोको साइकल यात्रा गरेको जानकारी दिनुभयो ।
राजदूतको साइकल यात्राले यस क्षेत्रको प्रचारप्रसारमा सकारात्मक भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । ‘उहाँले साइक्लिङका क्रममा हामीसँग निकै रमाइलो अनुभव साट्नु भयो, सुन्दर दृश्यवलोकनसहित उहाँले निकै सकारात्मक सन्देश दिने भिडियो पनि खिच्नुभएको छ । यसले हामीलाई निकै उत्साहित बनायो ।’ कोइरालाका अनुसार केही समयअघि वेगनास फेरोमा साइक्लिङ गरेका तस्बिर साइकल सिटी सचिव जय गुरुङले ट्विटरमा पोष्ट गरेको देखेपछि राजदूतले रुचि देखाएर सो साइकल रुटका बारेमा जानकारी लिनुभएको थियो । सचिव गुरुङका अनुसार साइकल सिटीले पोखरालाई प्रवद्र्धन गर्नका लागि ‘टुर दी पोखरा’ सँगै नयाँ वषर्मा ‘नयाँ ठाउँ एक गन्तव्य’ कार्यक्रम गर्दै आएको छ ।
पोखरा पर्यटकीय सहर भएकाले साइकल मैत्री सहर बनाउनुपर्छ भन्ने अवधारणा अघि सार्दै पोखराका विभिन्न २१ स्थानहरुमा साइकल स्ट्यान्ड राखेको छ । त्यसैगरी बाढीपहिरा पीडितलाई सहयोग, वृक्षारोपण, रक्तदानलगायत सामाजिक एवम् वातावरण मैत्री कार्यक्रम पनि गर्दै आएको साइकल सिटीमा एक सयभन्दा बढी सदस्य रहेका छन् । साततालको फेरोको ७४ किलोमिटरको साइकल मार्गको प्राजेक्टका लागि पनि काम गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्