Pokharapatra National Daily

पोखरा म्याराथनमा केन्याका कोसगाइ र नेपाल प्रहरीकी प्रसाईं प्रथम

१६ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा केन्याली धावकहरुको वर्चश्व रहेको छ । शनिबार पोखरामा सम्पन्न भएको उक्त प्रतियोगितामा केन्याली धावकहरुको बर्चश्व रहेको हो ।
७१ औं प्रजातन्त्र दिवसका अवसरमा पोखरा आयोजित उक्त प्रतियोगितामा केन्याली धावक स्टेफेनले निर्धारित दुरी ४२.१९५ किमि २ घन्टा १९ मिनेट ४३ सेकेण्डमा पार गर्दै उपाधि जितेका छन् । पोखरा म्याराथनमा उनले नयाँ रेकर्ड बनाएका छन् । यस अघिको विजेता भन्दा कम समयमा उक्त दुरी पार गरी हाल नयाँ रेडर्क बनाएको आयोजक नेपाल भुतपूर्व खेलाडी मञ्चले जनाएको छ । नयाँ रेडर्क राखेका स्टेफेनले उपाधि सहित नगद ४ लाख नगद हात पार्न सफल भएका हुन् । त्यस्तै केन्याकै अर्का धावक सिमिअन किप्लागाट टुले निर्धारित दुरी २ घन्टा २१ मिनेट ३ सेकेण्डमा पार गर्दै दोश्रो हुन सफल भए । उनले नगद २ लाख हात पार्न सफल भए । उनको समेत पोखरा म्याराथनमा नयाँ रेकर्ड राखेको मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले बताए ।
विभागिय टोली नेपाली सेनाका मोहन देव जोशी तेश्रो भए । उनले निर्धारित दुरी २ घन्टा ३३ मिनेट २४ सेकेण्डमा दुरी पार गर्दै तेश्रो भएका हुन् भने उनले नगद १ लाख प्राप्त गरे । उनी नेपाली धावकहरु मध्यबाट पहिलो स्थान भए संगै यूकेको कुनै एक म्याराथनमा सहभागि हुने मौका पाउने भएका छन् । एपिएफ क्लवका सन्तोष विक्रम विष्टले उक्त दुरी २ घन्टा ३४ मिनेट ४८ सेकेण्डमा पार गर्दै चौथो स्थान हात पारेका छन् भने उनले नगद ३० हजार प्राप्त गर्न सफल भए । यसैबिच, महिलातर्फ भएको २१ किलोमिटर हाफ म्याराथनमा नेपाल प्रहरीकी राजपुरा पछाईले उपाधि जितेकी छन् । उनले निर्धारित दुरी १ घन्टा २१ मिनेट २६ सेकेण्डमा पार गर्दै नगद १ लाख हात प्राप्त गरिन् । त्यस्तै एपिएफ क्लवकी विन्द्रा धान्के श्रेष्ठले १ घन्टा २७ मिनेट ४१ सेकेण्डमा पार गर्दै दोश्रो भइन भने उनले नगद ५० हजार प्राप्त गरेकी छन् । जुम्लाकी राममायाँ वुढाले १ घन्टा ३० मिनेट ४८ सेकेण्डमा उक्त दुरी पार गर्दै तेश्रो भइन भने उनले नगद ३० हजार प्राप्त गरिन । विदेशी धावक युकेकी हाना क्यारसले निर्धारित दुरी १ घन्टा ३२ मिनेट ५८ सेकेण्डमा पार गर्दै चौथो भएकी छन् भने उनले नगद १५ हजार प्राप्त गर्न सफल भईन । विजेता धावकहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेशका सांसद मोहन रेग्मी, ग्रिसका अवैतनिक राजदुत विक्रम पाँडे काजी, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, प्रदेश यूवा तथा खेलकुद मन्त्रालयका सचिव वद्रीनाथ अधिकारी, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, पोखरेली मञ्चका अध्यक्ष मान प्रसाद गुरुङ, उपाध्यक्ष करम गुरुङ, कृषि विकास बैंक प्रदेश कार्यालयका निमित्त निर्देशक शम्भु पौडेल, भूतपूर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट मञ्चका सल्लाहकार जगन गुरुङ, सल्लाहकार गणेश भट्टराई, महेश गुरुङ, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्की, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचन, किर्तिमानधारी धावक बैकुण्ठ मानन्धर लगायतले पुरस्कार वितरण गरेका थिए । उक्त प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री नेपालीले गण्डकी प्रदेशलाई खेलकुदको हव बनाउनु पर्ने बताए । उनले गण्डकी प्रदेश खेलकुदका लागि उपयूक्त प्रदेशको रुपमा रहेको बताउँदै खेलकुदको हव बनाउनु सवैको साथ र सहयोग आवश्यक भएको बताए ।
कार्यक्रममा हिमाली सांस्कृतिक परिवार, लोक दोहोरी प्रतिष्ठान गण्डकीका कलाकारहरुले विभिन्न सांगेतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए भने पोखरा क्षेत्रमा स्थानियले घर अगाडी घडा राखेर धावकहरुलाई स्वागत गरेका थिए । उक्त प्रतियोगिता लक्ष्मी ग्रुप अन्तर्गत सुजल डेरी प्रालिको मुख्य उत्पादन सफल दुधको मुख्य प्रायोजन रहेको मञ्चका केशव पाठकले बताए ।

प्रतिकृया दिनुहोस्