Pokharapatra National Daily

‘सेवा प्रभावकारिताको लागि साधन स्रोत आवश्यक छ’

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जनताको सुरक्षा एवं संविधानको रक्षार्थ प्रहरी सङ्गठनलाई पूर्वाधार सम्पन्न गराउनु पर्नेमा जोड दिनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा दुईवटा आवास, भान्साघर र हिरासत गरी छुट्टाछुट्टै चारवटा सुविधायुक्त पक्की भवनको आज उद्घाटन गर्दै उहाँले पूर्वाधारले सेवा प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
साधन स्रोतको अभावमा अपेक्षित सेवा दिन नसकिने उल्लेख गर्दै उहाँले समय सापेक्ष नवीनतम प्रविधिसँगै पूर्वाधार निर्माण गरी सङ्गठनलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
सङ्गठनलाई प्रभावकारी रूपमा अघि बढाउनकै लागि विभिन्न ६२७ युनिटहरू थप गरिएको जानकारी दिँदै उहाँले त्यसका लागि २३ हजार जनशक्ति आवश्यक हुने बताउनुभयो । आफ्नो इमान्दारिता र जिम्मेवारीका लागि सबैले आत्मसात गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रहरी महानिरीक्षक थापाले कुनै पनि काम विशेषमा नचुकेमा सङ्गठन झुक्न नपर्ने विश्वास व्यक्त गर्नुभयो । आम सर्वसाधारणले प्रहरी सङ्गठनप्रति आशा एवं विश्वास गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले मुलुकको शान्ति सुरक्षाको जिम्मा लिएको सङ्गठनले सामाजिक सञ्जालका आधारमा आफ्ना धारणा बताउन नहुनेमा जोड दिनुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शान्ति सुरक्षालाई प्रभावकारी बनाउन प्रहरी सङ्गठनलाई पनि पूर्वाधार एवं प्रविधि सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै महानगरपालिकाले पूर्वाधार सम्पन्न बनाउन आफ्नो तर्पmबाट निरन्तर साथ र सहयोग गरिरहेको बताउनुभयो । प्रमुुख जिल्ला अधिकारी जयनारायण आचार्यले जनताको जीउधनको सुरक्षार्थ खटिने प्रहरी पूर्वाधार अभावका कारण आफैँ असुरक्षित हुने अवस्था हुन नहुनेमा जोड दिँदै त्यसका लागि राज्यले आवश्यकता अनुसारको पूर्वाधार तयार गरिदिनुपर्ने बताउनुभयो ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दिवेश दोहनीले प्रहरीले साङ्गठानिक जिम्मेवारी पूरा गर्दै सङ्घ र प्रदेश सरकारको आर्थिक सहयोगमा आवश्यकताअनुसार भौतिक पूर्वाधार निर्माण कार्यलाई निन्तारता दिँदै आएको जानकारी दिनुभयो । कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले चुस्तदुरुस्त सेवा प्रवाह गर्न भौतिक संरचनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै पोखरामा अध्याधिक रहेको लागुऔषध ओसारपोसारसम्बन्धी गतिविधि नियन्त्रणमा प्रहरीले प्राथमिकतामा राखेर अघि बढेको बताउनुभयो ।
नेपाल सरकारको रु सात करोड छ लाख ११ हजार ८४२ को लागतमा उक्त चार वटा सुविधान सम्पन्न भवन निर्माण सम्पन्न गरिएको प्राविधि प्रहरी नायब उपरीक्षक केविनजङ्ग थापाले जानकारी दिनुभयो । उहाँका अनुसार नवनिर्मित चारवटा भवनमा महिला तथा पुरुष व्यारेक, सिनियर र जुनियर कर्मचारी आवास कक्ष, दुई वटा महिलासहित पाँच वटा हिरासत कक्ष, ८० जना क्षमताको भान्छा घरलगायत रहेका छन् ।
प्रहरी कार्यालय निर्माण सहयोग गर्ने पन्थी डेरिका सञ्चालक रेशम पन्थीलगायत निर्माणमा सहयोग गर्ने विभिन्न सङ्घसंस्था, निर्माण व्यावसायिक र प्रहरी अधिकृत तथा जवानलाई कदरपत्रले सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्