Pokharapatra National Daily

गण्डकी प्रदेश सरकारले भाडा समायोजन गर्ने

संघीय सरकारले सवारी साधनको भाडा समायोजन गरेसंगै गण्डकी प्रदेश सरकारले समेत भाडा समायोजन गरेको छ ।
गण्डकी प्रदेश सरकारको माघ ३ गते सोमबार बसेको क्याविनेट बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले बताए । गण्डकी प्रदेश सरकारले न्यूनतम ५.५५ प्रतिशतदेखि २८ प्रतिशतसम्म भाडा समायोजन गरेको प्रवक्ता खड्काले मंगबलार सार्वजनिक गरेका हुन् । लामो दुरीका यात्रु बाहक बसको हकमा २३.५१ प्रतिशत, नगर बसको हकमा २२.५५ प्रतिशत, ट्रकको हकमा १४.५७ प्रतिशत, जिपको हकमा ५.५० प्रतिशत भाडा बृद्धि गर्ने निर्णय भएको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यबस्था मन्त्री समेत रहेका सरकारका प्रवक्ता खड्काले बताए ।
गण्डकी प्रदेशमा ट्याक्सिको समेत भाडा समायोजना भएको छ । १५ किलोमिटर भित्रमा लागु हुने गरी ट्याक्सी चढ्ने विक्तिकै ८० रुपैया त्यस पश्चात प्रति दुई सय मिटरमा १० रुपैयाका दरले मूल्य निर्धारण गरिएको मन्त्री खड्काले जनाए । प्रदेशको यातायात क्षेत्रलाई चुस्त दुरुस्त पार्न केही नियमहरु समेत लागु गर्ने भएको उनले बताए । ट्याक्सीमा जिपिएस सहित मिटर जडान गर्ने, चालकले निश्चित पोसाक लगाउनुपर्ने, चालकले आफ्नो परिचय पत्र सेवाग्राहीले देखिने गरी राख्ने र भिजिटिङ कार्डको समेत व्यबस्था गर्नुपर्ने व्यबस्था गरिएको मन्त्री खड्काले जनाए । यात्रु बाहक बसमा समेत जिपिएस जडान सहित निश्चित ठाउँमा मात्र रोक्ने व्यबस्था गर्ने तथा कार्डबाट भाडा तिर्ने व्यबस्था गर्ने तयारी गरिएको बताए । संघीय सरकारले सार्वजनीक भाडा दरमा २८ प्रतिशत भाडा बृद्धि गरेकोले भाडा समायोजना गर्नुपर्ने भएकोले भौतिक पूर्वाधार मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समितिको दिएको सिफारिसको आधामा उक्त निर्णय गरिएको मन्त्री खड्काले जनाए । गण्डकी प्रदेश सरकारको क्याविनेटले उक्त निर्णय सहित ५ वटा निर्णय गरेको प्रवक्ता खड्काले बताए । गण्डकी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धी विधेयक २०७८ को मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक स्वीकृत दिने, गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउन सो सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत दिने निर्णय गरेको उनले जनाए । त्यसै गरी भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन स्वीकृत गर्ने र घरेलु तथा साना उद्योग विकास समितिको प्रदेशमा कार्यरत अस्थायी दरबन्दीका ८ जना कर्मचारीको २०७८/७९ का लागि म्याद थप गर्ने निर्णय गरेको प्रवक्ता खड्काले जनाए ।
यसैबिच गण्डकी प्रदेश सरकारसंग करिब तीन महिनाको छलफल पश्चात भाडा समायोजन भएको नेपाल यातायात व्यबसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश संयोजक भानुभक्त बरालले बताए । पेट्रोलियम पदार्थको मूल्य बृद्धि, टायर, पाटपूर्जा, व्यबस्थापन लगायतका १३ वटा सूचकको आधारमा भाडा समायोजन भएको उनले जनाए ।
गण्डकी प्रदेशमा करिब २ लाख ८० हजार सवारी साधनहरु रहेको जसमध्य २८ हजार मात्र सार्वजनिक सवारी साधनहरु रहेको संयोजक बरालले दाबी गरे । प्रदेशमा करिब २ हजार ४ सय ट्याक्सी भएको उनले जनाए । प्रदेश सरकारले भाडा समायोजन गरेर व्यवसायी र सेवाग्राहीहरुको लागि उचित निर्णय गरेको संयोजक बरालले बताए । २०७५ सालमा सरकारले १० प्रतिशत भाडा समायोजन गरेको उनले स्मरण गरे । लामो समय देखि भाडा समायोजन नहुदा एका तर्फ व्यावसायीले मनपरी भाडा लिने र यात्रुलाई समेत अन्यौलको स्थिती भएको प्रदेशबासीले गुनासो गर्दै आएका थिए ।

प्रतिकृया दिनुहोस्