Pokharapatra National Daily

वालिङमा निशुल्क डायलाइसिस सेन्टर संचालन

श्रीकृष्ण सिग्देल, स्याङ्जा
नेपालमा पछिल्लो समय मृगौला रोगका पिडितको अवस्था दिनानुदिन बढ्दो छ ।
बिषादी खाद्यन्न, जथाभावी क्लिनिकबाट औषधी सेवन गर्ने, स्वास्थ्यलाई ख्याल नगर्दा मृगौला रोग बढ्ने गरेको चिकित्सकहरु बताउछन् । मृगौलाले काम गर्न छाडेपछि ज्यान जानबाट बचाउन गरिने डायलाइसिसका लागि पनि स्याङ्जाका मृगौला पिडित रोगीलाई निकै समस्या हुने गरेको थियो । यसलाई मध्यनजर गरेर स्याङजाको वालिङमा रोटरी क्लव अफ वालिङले निशुल्क डायलाइसिस सेन्टरको सुरुआत गरेको हो ।
मृगौला रोगी बढ्न थालेपछि स्याङ्जाको वालिङमा रोटरी अफ क्लव वालिङको पहलमा निशुल्क सुविधा सम्पन्न डायलाइसिस सेन्टर सञ्चालनमा ल्याएको छ । करिब ७ करोड खर्च गरेर संचालनमा ल्याइएको वालिङ सामुदायीक डायलाइसिस सेन्टरमा दैनिक १६ जनाको उपचार गर्ने क्षमता रहेको छ । वालिङ नगरपालिका वडा नम्वर १० मा सञ्चालनमा ल्याइएको डायलाइसिस सेन्टर रोटरी क्लव अफ वालिङले वालिङ नगरपालिका र गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको सहकार्यमा सेन्टर सञ्चालनमा ल्याएको हो ।
रोटरी क्लव अफ वालिङको प्रस्तावनामा रोटरी ईन्टरनेसनलले डायलाइसिस सेन्टर सञ्चालनका लागि ५ करोड र गौतमबुद्ध सामुदायीक अस्पतालले २ लाख खर्च गरेका छन् । वालिङ नगरपालिकाले उपलव्ध गराएको भवनलाई मर्मत गरेर डायलाइसिस सेन्टर संचालनमा ल्याइएको रोटरी क्लव अफ वालिङका पुर्व अध्यक्ष राजेन्द्र डुम्रेले बताए । मृगौला पिडित रोगीहरु डायलाइससि गर्न पोखरा वा पाल्पा जानुपर्ने बाध्यता रहदै आएको थियो । हरेक बर्ष स्याङ्जाबाट मृगौला पिडितले डायलाइसिसका लागि करोडौ खर्च गर्ने गरेको तथ्याङ्क पाएपछि रोटरी क्लव अफ वालिङले यसको योजनामा लागेको थियो । करिब ३ बर्ष लगाएर गौतमबुद्ध सामुदायीक अस्पताल बुटवलको आर्थिक र प्राविधिक सहयोगमा वालिङमा निशुल्क डायलाइसिस संचालनमा ल्याउन सफलता पाएको हो । विभिन्न हस्पिटललाई डायलाइसिस सेवाका लागि नेपाल सरकारले दिने रकमलाई गौतम बुद्ध सामुदायीक अस्पतालले लिने गरी यो सेवा संचालनमा ल्याएको रोटरी कल्व अफ वालिङका पुर्व अध्यक्ष डुम्रेले बताए । यसका लागि बिरामीलाई कुनै शुल्क लाग्ने छैन उनले भने,‘पाल्पा, बुटवल लगायत जुनसुकै हस्पिटलमा डायलाइसिस गरेका बिरामीलाई अब सहज हुनेछ ।’ मृगौला पिडितले अब कसैसग ज्यान बचाउन हात जोड्नु पर्दैन उनले भने ।
मृगौला डायलाईसिस सेन्टरमा ११ वटा मेसिन जडान गरिएको छ । सेन्टर सञ्चालनको शुरुमा एक महिनामा ४८ जनाले उपचार गर्न सक्ने क्षमता रहेपनि बिरामीको चाप बढेमा बढाउन सकिने बताइएको छ । स्याङ्जा र दक्षिण पर्वत जिल्लामा मृगौला रोगीको संख्या बढेको देखिन्छ । स्याङ्जामा हाल २ सय ४४ जना मृगौला रोगबाट पिडित रहेको तथ्याङ्क रहेको छ । डायलाइसिस गर्न बुटवल र पोखरा जानुपर्ने बाध्यताका कारण रकम अभावले ज्यान जानेदेखि सम्पती सकिएका घट्नाहरु आएका बेला यो सुविधा जिल्लामै शुरुआवत भएपछि स्थानीयहरु पनि खुशी भएका छन् । बिरामी पुरै निको हुने भन्दा पनि बिरामीलाई सजिलो बनाउन वा मृगौला प्रत्यारोपणमा सहजता दिन डायलाईसिस गर्ने वालिङ सामुदायीक डायलाइसिस अस्पतालका प्रमुख डाक्टर रजत कायस्थले बताए । यो रोगलाई न्युनिकरण गर्न यस्ता डायलाइसिस सेन्टरहरु जिल्ला, जिल्लामा संचालन, डाक्टरको सल्लाह नलिई जथाभावी औषधी सेवनलाई रोक, जनचेतनाको आवश्यकता रहेको डा. कायस्थको सुझाव छ ।
यस सेन्टरमा एक जना मृगौलाका बिरामीलाई एकपटक डायलाईसिस गर्न चार घण्टा लाग्नेछ । सेन्टरमा अहिले बिशेषज्ञ चिकित्सक सहित ११ जना स्वास्थ्यकर्मी कार्यरत छन् । रोटरी क्लव अफ वालिङले ल्याएको निशुल्क डायलाइसिस सेवाले स्याङ्जा र दक्षिण पर्वतका मृगौला पिडितका लागि ठुलो राहत मिलेको छ । आर्थिक अभावले मृगौलाबाट ज्यान गुमाउनबाट बचाउने यो सामाजिक कार्यका लागि स्याङ्जावासीले रोटरी क्लव अफ वालिङलाई प्रशंसा गरेका छन् । यो सेन्टरको सुरआवतमा पुर्व मन्त्री पद्मा अर्याल, जिल्ला समन्वय स्याङ्जाका उपप्रमुख दिलिपकुमार वगाले, वालिङ नगर प्रमुख दिलिपप्रताप खाँण लगायतको सहभागीता रहेको थियो । शुरुआतमा दुई जना मृगौला पिडित रोगीले सेवा लिएका छन् ।

प्रतिकृया दिनुहोस्