Pokharapatra National Daily

लगानी मैत्री वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्धः मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रदेशमा लगानी मैत्री वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आरकेडी होल्डीङ्ग कम्पनीको ५ औं साधारण सभा तथा दोस्रो अधिवेशन कार्यक्रममा बोल्दै उहाँले व्यवसायीको लगानीलाई सुरक्षा गर्ने जिम्मेबारी सरकारको समेत रहेको उल्लेख गर्नुभयो ।
‘प्रदेशमा व्यवसायीलाई लगानीमैत्री वातावरण बनाउन हामी प्रतिबद्ध छौं’, उहाँले भन्नुभयो, ‘व्यवसायी र लगानीकर्ताहरुको हित विपरितको ऐनहरुलाई परिमार्जित गर्दै नियमानुसार सहज र सरल बनाउने छौं ।’ मन्त्री थापाले आरकेडी होल्डीङग कम्पनीले स्थानीय जनतालाई स्वरोजगारतर्फ केन्द्रीत गराइरहेको उल्लेख गर्नुभयो । कम्पनीले मुनाफा कमाउने हेतुले मात्र नभई सामाजिक सेवा समेत प्रवाह गरिरहेको भनाई उहाँको थियो । ‘आरकेडी होल्डीङ्ग कम्पनीले लगानी मात्र गरेको छैन । सामाजिक सेवा समेत प्रवाह गरिरहेको भान हुन्छ । आफु मात्रै कमाउने आफु मात्रै रमाउने नभई जनतालाई नै स्वरोजगार हुन सिकाउने बाटोमा आरकेडी लागेको देख्दा खुशी लागेको छ ।’, उहाँले भन्नुभयो ।
मन्त्री थापाले व्यवसायी क्षेत्रबाट आफु राजनीतिमा आएको र व्यवसायीको पीरमर्कालाई नजिकबाट बुझेको बताउँदै जनताको हितबमोजिम नै व्यवसाय क्षेत्रको वृतिविकासका लागि सरल कानून निर्माणमा ध्यान दिने उल्लेख गर्नुभयो । उहाँले गण्डकी प्रदेशमा पर्यटकको आकर्षण बढाउन थप लगानीको आवश्यकता रहेको बताउनुभयो । प्रदेशमा सम्भावना भएका पर्यटकीय क्षेत्रको विकास र संरक्षणमा सरकारलाई सहयोग गर्न उहाँको आग्रह छ । सबै मिलेर नै प्रदेशको आर्थिक स्थरमा सुधार ल्याउन सकिने धारणा उहाँको छ । मन्त्री थापाले व्यवसायीले लगानी गरेर मात्र नहुने र लगानी अनुसारको उत्पादनमा समेत ध्यान पुर्याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । ‘व्यवसायीले लगानी गरेर मात्र हुँदैन । लगानी सही ठाउँमा छ वा छैन त्यसको ख्याल गर्नुपर्छ । उत्पादनमुखी क्षेत्रमा लगानी गर्दै त्यसको बजारीकरणमा समेत ध्यान दिएको खण्डमा स्वरोजगारलाई बढ्वा दिन सकिन्छ ।’

प्रतिकृया दिनुहोस्