Pokharapatra National Daily

केबी नाम्जाली स्मृति सम्मानबाट रूद्र “सन्देश” सम्मानित

मगर भाषाका कवि केबी नाम्जाली भुरुङ मगरको नाममा स्थापित केबी नाम्जाली स्मृति साहित्य सम्मान–२०७८ बाट साहित्यकार रूद्र “सन्देश” मगर सम्मानित हुनुभएको छ ।
कवि नाम्जालीको ५५ औं जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा मगर सम्मानित हुनुभएको हो । साहित्यकार मगरलाई गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का “बिखर्ची”, कवि नाम्जाली पत्नी शशी थापामगर, मगर भाषा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष लोकबहादुर थापामगर र प्रतिष्ठानका कास्की अध्यक्ष रूद्रबहादुर हितानमगरले नगद, ताम्रपत्र, फेटा र भाङ्ग्राद्वारा सम्मान गर्नुभयो ।
सो अवसरमा बोल्दै गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का “बिखर्ची”ले कवि नाम्जालीका अप्रकाशित कृति प्रकाशन गर्न सके उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने भनाइ राख्नुभयो । दिवंगत व्यक्तिको नाममा गरिने सम्मान नै सबैभन्दा ठूलो पुण्य भएको भन्दै उहाँले सम्मान पाउनु ठूलो प्राप्ति भएको बताउनुभयो । स्थापित जातिको विस्थापित भाषाका रुपमा मगर भाषा रहेको भन्दै उहाँले गण्डकी प्रज्ञा–प्रतिष्ठानले मातृभाषाको उत्थानमा मगर भाषा प्रतिष्ठानसँग सहकार्य गर्ने उल्लेख गर्नुभयो । कवि, साहित्यकार कुनै जाति विशेषको मात्र नहुने भन्दै जुनसुकै भाषामा कलम चलाएपनि ऊ सबैको साझा हुने बताउनुभयो ।
मगर भाषा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष लोकबहादुर थापामगरले मगर भाषा प्रतिष्ठान, कास्की शाखाले भाषिक एवं साहित्यिक गतिविधिमा सक्रियता देखाएको भन्दै प्रशंसा गर्नुभयो । सो अवसरमा उहाँले मातृभाषामा रचना वाचनलगायतका सिर्जनात्मक कार्यक्रमलाई समेत जोड दिन सके अझै राम्रो हुने बताउनुभयो । रुपा गाउँपालिका वडा नं. १, कास्कीका वडाध्यक्ष दीपक आलेमगरले भाषा, साहित्यको उत्थानका लागि जनप्रतिनिधिहरूले पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । आफूले भाषा, साहित्यको विकासमा सक्दो सहयोग गर्ने भन्दै उहाँले समाजलाई सही दिशामा डो¥याउन भाषाविद्, साहित्यकारहरूको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । नेपाल मगर संघका केन्द्रीय सदस्य पूर्णबहादुर रानामगरले मगर जातिको भाषा, साहित्य, कला र संस्कृतिको विकासका लागि प्रतिष्ठानजस्ता संस्थाले उल्लेख्य भूमिका खेलेको भन्दै समुदायस्तरमा अझै सक्रियताको आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा सम्मानित व्यक्तित्व साहित्यकार रूद्र “सन्देश” मगर, केबी नाम्जाली भुरुङ मगर स्मृति अक्षयकोषका संरक्षक क्या. नरेश थापामगर र राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका अध्यक्ष हर्क आलेमगरले बोल्नुभएको थियो । त्यस्तै, प्रतिभा छनौट समितिकी संयोजक फूलकुमारी थापामगरले सम्मानित व्यक्तित्वको परिचय र प्रतिष्ठानका उपाध्यक्ष यामबहादुर थापामगरले कवि नाम्जालीको व्यक्तित्व र कृतित्वका बारेमा बोल्नुभएको थियो । मगर भाषा प्रतिष्ठान, कास्की शाखाका अध्यक्ष रूद्रबहादुर हितानमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रूद्रबहादुर श्रीसमगर र सदस्य कुमार थापामगरले स्वागत गर्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस्