Pokharapatra National Daily

पोखरा महानगरको प्रशासकीय भवन शिलान्यास

पोखरा महानगरपालिकाले आफ्नो सुविधासम्पन्न र अत्याधुनिक प्रशासकीय भवन निर्माण सुरु गरेको छ ।
पोखरा–८ नयाँबजारस्थित दमकलमार्गमा महानगरको आफ्नै चार रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने भवनको आज महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले शिलान्यास गर्नुभयो । साबिक पोखरा नगरपालिका हुँदादेखिको साँघुरो भवनबाट सेवा दिँदै आएको महानगरले यसअघि पटक÷पटक भवन निर्माणका लागि जमिन खोजी गरेको तर जमिन अभावमा प्रशासनिक भवन निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन । महानगरका अनुसार ‘अन्डरग्राउन्ड पार्किङ’ सहितको पाँचतलाको भवन रु १९ करोड पाँच लाख छ हजार ३०८ लागतमा निर्माण हुनेछ ।
सो भवन आगामी १८ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी भूमि बुद्ध÷ओम बुद्ध जेभी विराटनगरसँग गत असोज १० गते ठेक्का सम्झौता गरिएको महानगर वरिष्ठ इन्जिनियर पूर्णबहादुर गुरुङले बताउनुभयो । भवन शिलान्यास गर्दै उपप्रमुख गुरुङले भवन निर्माणपछि महानगरका सबै महाशाखा एउटै भवनमा रहने र प्रदान गरिने सेवासमेत प्रभावकारी हुने बताउनुभयो । उहाँले निर्धारित समयभित्रमा गुणस्तरीय रुपमा निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो । हाल महानगरका विषयगत कार्यायल र महाशाखा फरकफरक स्थानमा रहँदा नागरिकले सहज सेवा पाउन सकेको छैनन् ।
प्रमुख प्रशासकीय अधिकृत बलराम रिजालले विकासँग जोडिएको प्रशासकीय भवन निर्माणका लागि सबैको सहयोग र साथ आवश्यक रहेको बताउनुभयो । स्थानीयवासीले भने महानगरको सो जमिन भएको क्षेत्रलाई खुला नै राखेर उद्यानका रुपमा विकास गर्नुपर्ने भन्दै शिलान्यासमा केही बेर अवरोध गरेका थिए । पाँचवटा स्थानीय तह रहेको जिल्लामा माछापुच्छ«े गाउँपालिकाको प्रशासकीय भवन निर्माणको अन्तिम चरणमा रहेको छ । अन्य पालिकामा भने जमिन अभाव तथा पालिकाको केन्द्र टुङ्गो लाग्न नसक्दा प्रशासकीय भवनको काम अघि बढ्न सकेको छैन ।

प्रतिकृया दिनुहोस्