Pokharapatra National Daily

कांग्रेस गण्डकी प्रदेश सभापतिमा शर्मा

नेपाली कांग्रेसको प्रथम गण्डकी प्रदेश अधिवेशनबाट सभापति पदमा शुक्रराज शर्मा निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनमा उहाँ ६१२ मत ल्याई प्रदेशको पहिलो सभापति बन्न सफल हुनुभएको हो ।
उहाँका प्रत्यासी अर्जुनप्रसाद जोशीले ५२८ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य विष्णुकुशल भुजेलले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा पौडेल पक्षले कब्जा जमाएको छ । यहाँ पदाधिकारीका अधिकांश पदमा संस्थापन इतरका नेताहरु विजयी हुनुभएको छ । उपसभापतिमा दुइटै स्याङ्जाका उम्मेदवार विजयी हुनुभएको छ । संस्थापन पक्षबाट मेखलाल श्रेष्ठ र संस्थापन इतरबाट कल्पना तिवारी विजयी हुनुभयो । संस्थापन पक्षकै नेत्र महत र संस्थापन इतरका हरिप्रसाद श्रेष्ठ पराजित हुनुभएको छ । तिवारीको ६२४ मत आउँदा दोस्रो बन्नुभएका श्रेष्ठको ५५६ मत छ । तेस्रो स्थानका हरिको ५४८ तथा अन्तिम भएका नेताको ४५७ मत आएको छ । महामन्त्रीमा अन्तिम अवस्थामा विष्णु लामिछानेले लिड गर्दै देउवा पक्षका उम्मेद्वारलाई हराउनुभयो । पहिलोमा किरणबावु श्रेष्ठले ५७३ मत र दोस्रोमा विष्णुको ५६७ मत आएको छ । तेस्रोमा कुमार खड्काको ५५६ र चौंथो हुनुभएका इश्वर पाण्डेको ४७३ मत आयो । ११ सय मत गन्दा दोस्रोमा कुमार खड्का हुनुहुन्थ्यो ।
सहमहामन्त्रीका पनि सबै पदमा पौडेल पक्षले जितेको छ । महिला सह महामन्त्रीमा कोपीला रानाभाट ५५२ मत सहित विजयी हुँदा संस्थापन पक्षकी ओमकला गौतम ४८८ मत प्राप्त गर्दै पराजित हुनुभयो । खुला सहमहामन्त्रीमा रमेश कुमार सर्वाधिक भोट ल्याएर विजयी हुनुभयो । उहाँले ६१८ मत प्राप्त गर्नुभयो । ५६९ मत ल्याएर दोश्रो हुँदै रामचन्द्र जोशी पनि विजयी हुनुभयो । गण्डकीको पदाधिकारीमा संस्थापन पक्षबाट मेखलालमात्रै विजयी हुनुभएको हो ।

प्रतिकृया दिनुहोस्