Pokharapatra National Daily

‘ढुक्क हुनुहोस् पोखराको रत्नमन्दिर र हिमागृह छिट्टै खुल्छ’ –मन्त्री आले

संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्री प्रेमबहादुर आलेले पोखराको पर्यटन विकाससँगै रत्नमन्दिर र हिमागृह जसरी पनि खोल्न पहल गर्ने बताउनुभएको छ ।
पोखरा पर्यटन परिषद्का २२ औं साधारण सभाको उद्घाटन कार्यक्रममा मन्त्री आलेले आफू पर्यटन विकास गर्नकै लागि मन्त्रीको जिम्मेवारी लिएको जनाउँदै पर्यटकीय नगरी पोखराको पर्यटनमा विशेष चासो दिने बताउनुभयो । उहाँले भन्नुभयो “ मैले पोखराको रत्नमन्दिर हिमागृह खुाल गर्ने विषयमा धेरै समाचार पढें र यहाँ आउनु अघि पनि रक्षामन्त्रीसँग यसबारेमा बुझ्न प्रयास गरें, के कारणले खुल्न नसकेको हो, म काठमाडौं गएर बुझ्छु र छिट्टै खोल्न पहल गर्छु, ढुक्क हुनुहोस् म खुलाउँछु ।”
मन्त्री आलेले पर्यटन क्षेत्रका पूर्वाधार विकासका लागि संस्थागत सेटिङबाट हुने गरेको भ्रष्टाचार न्यूनिकरणका लागि आफूले विशेष पहल थालेर अगाडि बढेको बताउनुभयो । उहाँले पोखरा विमानस्थल सञ्चालनका लागि आवश्यक रिठेपानीको डाँडा कटान लगायतका समस्यालाई गम्भिर रुपमा लिएको र त्यसको समाधानको लागि आफू प्रतिवद्ध रहेको बताउनुभयो ।
गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणीभद्र शर्मा कँडेलले पोखरामा पर्यटन क्षेत्रको समस्याको बारेमा आफू अवगत रहेको जनाउँदै नीति बनाएर यसको समाधानको लागि पहल गरिरहेको जानकारी दिनुभयो । उहाँले संघीय पर्यटन ऐन बनेपछि प्रदेशको ऐन बनाउन सहज हुने जनाँउदै त्यो गाँठो फुकाउन संघीय मन्त्रीलाई ध्यानाकर्षण गराउनुभयो । उहाँले नीजि क्षेत्र प्रोत्साहन गर्ने प्रदेशको नीति रहेको जनाउँदै पर्यटन विकासमा नीजि क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।
कार्यक्रमा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भटराईले पर्यटन विकासमा राज्यले स्पष्ट नीति बनाएर अगाडि बढ्न नसक्दा यस क्षेत्रका व्यवसायी निराश भएको बताउनुभयो । उहाँले विमानस्थल सञ्चालनकालागि रिठेपानीको डाँडा, ल्याण्ड फिल र नहर समस्या प्रमुख रहेको भन्दै छिटो भन्दा छिटो यसको समाधान गरेर पोखराबाट पहिलो अन्तराष्ट्रिय उडान गराउनुपर्ने जोड दिनुभयो । अध्यक्ष भट्टराईले पर्यटन मजदुरका लागि जम्मागरिएको टिम्सको रकम मजदुरको लागि खर्च गर्नुपर्ने, विभिन्न पदमार्गमा मल्टिपल इन्ट्रि, पदमार्ग संरक्षणसँगै व्यवसायीलाई पाँच प्रतिशतमा ऋण प्रवाह गर्नुपर्ने र बैंकले दुई वर्षसम्म किस्ता व्याज भुक्तानको समय दिनुपर्ने लगायतका विषयमा सुनुनाई नभएको भन्दै मन्त्रीलाई ध्यानाकर्षण गराउनुभएको थियो ।
गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेर यहाँका प्राकृतिक सुन्दरतालाई व्यवस्थित गरेर अगाडि लानुपर्नेमा जोड दिनुभयो । उहाँले पोखराको फेवाताल विश्वको १३ औं सुन्दर तालमा पर्ने जनाउँदै फेवाताल मापदण्डको विषयलाइ टुंग्याएर सौन्दर्यकरण ध्यान दिनु पर्ने उहाँको भनाइ थियो । सो अवसर जर्जियाका लागि नेपालका पर्यटकीय सद्भावना दूत दिपक पहारी, नमस्ते सामुदायिपक प्रतिष्ठान नेपालका अध्यक्ष भिष्मराज पौडेल र रेवानका पूर्व महासचिव श्रीराम गिरीको पहलमा नेपाल एशोसियशन जर्जिया र नेपाली कल्चर सेन्टरले कोरोनाको समयमा विशेष राहत र स्वास्य सामग्री सहयोग गरेको भन्दै सम्मान गरिएको थियो । सम्मान पश्चात आफ्नो धारण राख्दै पहारीले नेपालमा एनआरएनका परिवारका सदस्य नेपालमा आएर लामो समय विताउन मन पराउने उल्लेख गर्दै पर्यटन विकासका लागि उनीहरुको आतिथ्यतालाई पनि प्राथमिकता दिन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, पोखरा उद्योग बाणिज्य संघका उपाध्यक्ष पवन प्रजापति लगायतले पर्यटन क्षेत्रमा आफ्नो क्षेत्रबाट गर्न सक्ने सहयोग र साझेदारीका बारेमा धारणा राख्नुभएको थियो । कार्यक्रमको वन्द सत्रमा महासचिव रामचन्द्र शर्माले संस्थाको प्रगति प्रतिवेदन कोषाध्यक्ष कृष्ण काफ्ले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो उपाध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्