Pokharapatra National Daily

प्रदेश सरकारले देखिने गरी काम गरेको छः मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारले नागरिकले महसुस गर्ने गरी काम गर्दै आएको भनाइ राखे ।
सरकारमा आएको ५ महिनाको अवधिमा कुनै बाटो बन्ने पुल बन्ने काम हुन नसके पनि सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गरेको भनाइ राखे । यसै अभियान अन्तर्गत कोभिडले अभिभावक गुमाएका बालबालिकालाई राहत प्रदान गरिएको भनाइ उनको थियो । मुख्यमन्त्रीले भने, ‘हामी बालबालिकाका अभिभावक त दिन सक्दैनौं, तर ती बालबालिकालाई हामी अभिभावकत्व त दिन सक्छौं नि भनेर यो काम थालेका हौं ।’
कोभिडबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ प्रदान गर्ने कार्यविधि पनि तयार भइसकेको र छिटै नै रकम हस्तान्तरण गरिने मुख्यमन्त्रीले बताए । बजेट र नीति तथा कार्यक्रममा उल्लेख गरिएका सबै प्रतिबद्धता पूरा गर्न अधिकांश कार्यविधि बनिसकेको भन्दै उनले अब धमाधम बजेट कार्यान्वयनमा जाने उल्लेख गरे । कठीन परिस्थितिमा सरकार बनेको र छोटो अवधिमा बजेट ल्याउनु परेको भन्दै उनले विगतका सरकारले दायित्व सिर्जना गरेर छाडेका योजनाले नै नयाँ योजना ल्याउन नसकेको उनले बताए । मुख्यमन्त्री पोखरेलले भने, ‘अहिले हाम्रो नेतृत्वको सरकारले ल्याएको ठूलो योजना भनेको डेढगाउँ– झ्यालवास सडक हो, उत्तरबाट दक्षिण छिचोल्ने बाटोको टुंगो बल्ल लागेको छ ।’ प्रदेश सरकारले गाडीमा अनावश्यक खर्च गरेको सवालमा उनले सरकारले पूर्णरुपमा मितव्ययिता अपनाएको दाबी गरे । अहिले गठबन्धनको सरकार बनेको बेलामा मन्त्रालय थपिएको र प्रति मन्त्रालय एउटा गाडी दिँदैमा अनावश्यक खर्च ग¥यो भनेर भन्न नमिल्ने उनको भनाइ थियो । मुख्यमन्त्रीले भने, ‘तपाईंहरुले सूचनाको हक सम्बन्धी अधिकार प्रयोग गर्न सक्नुहुन्छ, हामीले के र कसरी दुरुपयोग गरेका छौं, त्यो देखिइहाल्छ नि ।’
कार्यक्रममा सभामुख नेत्रनाथ अधिकारीले सामाजिक विकासका क्षेत्रमा प्रदेश सरकारले चालेका कदमको प्रशंसा गरे । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले मानिस जिवित रहँदै उनको स्याहार सुसार र उपचार हुनुपर्ने भन्ने सामाजिक मान्यताबाट प्रेरित भएर प्रदेश सरकारले काम गर्दै आएको भनाइ राखे ।कोभिडले अभिभावक गुमाएका बालबालिकाको शिक्षाको दायित्व सरकारले दिनकै लागि मासिक ५ हजार रुपैयाँ प्रदान गरेको उनको भनाइ थियो । यसैगरी प्रदेशका हरेक घर लैंगिक हिंसामुक्त बनाउनका लागि नागरिकस्तरबाटै पहल हुने र त्यसमा सरकारको साथ रहने प्रतिबद्धता उनले जनाए ।
कार्यक्रममा मानव सेवा आश्रमका अध्यक्ष राजु अधिकारीले सभ्य र जिम्मेवार समाज निर्माणको अभियानमा आफूहरु जुटेको र त्यसमा संघ, प्रदेश र स्थानीय सरकारहरुबाट सहयोग हुँदै आएकोमा खुसी व्यक्त गरे ।
गैरसरकारी संस्था महासंघ गण्डकी अध्यक्ष बिना सिलवालले समाजलाई लैंगिक हिंसामुक्त बनाउने अभियान आफैबाट आजै सुरु गरिहाल्नुपर्ने भनाइ राखिन् । मन्त्रालयको महाशाखा प्रमुख जमुना पौडेल, तोयानाथ लम्सालले उक्त अवसरमा भनाइ राखेका थिए ।

प्रतिकृया दिनुहोस्