Pokharapatra National Daily

सबै नागरिकले मेरो सरकार भन्ने प्रत्याभूत गराउँछौँः  सहरी विकासमन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वर्तमान सरकारलाई सबै नागरिकको सरकार हो भन्ने प्रत्याभूत गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) तनहुँले दसैँका अवसरमा शनिबार दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले सरकार सबै नागरिकको भएको बताउनुभयो । मन्त्री झाँक्रीले पार्टीले आफूहरूलाई दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताउनुभयो । भ्रष्टाचार, कुशासन, गैरजिम्मेवारीपनको प्रवृत्तिका विरुद्धमा विगतदेखि नै लड्दै आएको र आगामी दिनमा पनि सोहीविरुद्ध लड्ने मन्त्री झाँक्रीले उद्घोष गर्नुभयो । मन्त्री झाँक्रीले समय धेरै नभएकाले जनअपेक्षाअनुसार काम गर्ने बताउँदै भन्नुभयो, ‘हामीसँग समय छैन भनेर बस्ने छुट छैन, समय छोटो छ तर केही न केही गरेरै छाड्छौँ ।’
मन्त्री झाँक्रीले न्यायोचित विकासको पक्षमा रहेर काम गर्ने बताउँदै भन्नुभयो, ‘गुल्मीले मन्त्री पायो भन्दैमा गुल्मीमा मात्रै विकास होइन, जुम्ला र हुम्लामा पनि विकास हुनुपर्छ, न्यायोचित विकासको पक्षमा म छु ।’ मन्त्री झाक्रीले स्मार्ट सिटी मात्र नभई बस्न योग्य सहर बनाउनेतर्फ मन्त्रालयले ध्यान दिने बताउनुभयो । कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारका सवालमा भइरहेका दलाली र विकृति अन्त्य गर्ने बताउनुभयो ।
समाजवादोन्मुख राज्य प्रणाली स्थापनाका निम्ति नीति, कानून र मापदण्ड बनाउँदै मन्त्री श्रेष्ठले श्रमिकले श्रमको मूल्य नपाउने अवस्थाको पूर्ण अन्त्य गरिने बताउनुभयो । कोभिड महामारीका कारण करिब १५ लाखले रोजगारी गुमाएको बताउँदै मन्त्री श्रेष्ठले रोजगारी गुमाएकाको पुनःस्थापना अहिलेको चुनौती रहेको बताउनुभयो । ‘सबै क्षेत्रसँग समन्वय गरेर सकेसम्म देशभित्रै रोजगारका अवसर सिर्जना गर्ने र आत्मस्वाभिमानको साथ काम गर्ने वातावरणको निम्ति पहलकदमी लिनेछु’, मन्त्री श्रेष्ठले भन्नुभयो । औद्योगिक क्षेत्रमा श्रमिकमाथि हुने शोषणको अन्त्य गर्ने बताउँदै मन्त्री श्रेष्ठले औद्योगिक निकायसँग छलफल गरेर दीर्घकालीन समाधानको काम गर्ने बताउनुभयो । कार्यक्रममा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठ, केन्द्रीय सदस्य कलिला खान, रेखा थापा बस्याललगायतले तनहुँ जिल्लामा एकीकृत समाजवादीको सङ्गठन सुदृढीकरणमा ध्यान दिने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्