Pokharapatra National Daily

निजी क्षेत्रमैत्री वातावरण निर्माण सरकारको प्राथमिकताः मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आर्थिक वृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेकाले सरकारले निजी क्षेत्र मैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।
पोखरा उद्योग वाणिज्य सङ्घको ६७औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले प्रदेश समृद्धिको मुख्य आधार पर्यटन रहे पनि औद्योगिक विकासलाई पनि सरकारले महत्व दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “उद्योगको विकास हुनैपर्छ तर हाम्रो पहिलो प्राथमिकता पर्यटन हो ।”
उत्तर तिब्बत र दक्षिण भारत जोड्ने कोरोला–त्रिवेणी सडक बनेपछि व्यापार बढ्ने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश सरकारले साना व्यवसायीलाई लक्षित गरी ल्याएको व्यवसाय पुनरुत्थान कोषलाई अझै व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । गण्डकीमा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले पोखरा–जनकपुर हवाइ सेवा सुरु गर्न पहल गरिएको बताउनुभयो । कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रदेश सरकार विकासमैत्री कानून निर्माणसँगै कानून परिमार्जनका लागि क्रियाशील बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले देशमा राजनीतिक अस्थिरता निम्त्याउने सक्रिय रहेको जिकिर गर्दै अस्थिर वातावरणमा आर्थिक समृद्धि सम्भव नभएको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीका अध्यक्ष सञ्जिवबहादुर कोइरालाले राजस्व बढाउनका लागि लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । पोखरा उद्योग वाणिज्य सङ्घ तथा कार्यक्रमका अध्यक्ष नारायण कोइरालाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछिको पोखरा कस्तो हुने भन्नेबारे अहिलेदेखि नै तयारी थाल्नुपर्ने भनाइ राख्नुभयो ।
कार्यक्रममा सङ्घका पूर्वअध्यक्षद्वय दीपक श्रेष्ठ, कृष्णमोहन श्रेष्ठ, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, सङ्घका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापति, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसियनका अध्यक्ष मोहनबाबु खड्का लगायतले उद्योग व्यवसायमैत्री वातावरण बनाउन सरकारसँग माग गर्नुभएको थियो । पोखरा उद्योग वाणिज्य सङ्घले स्थापना गरेको ‘आर्थिक पत्रकारिता पुरस्कार–२०७८’ बाट पत्रकार लालप्रसाद शर्मा सम्मानित हुनुभएको छ ।
सङ्घको वार्षिक अधिवेशनका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पत्रकार शर्मालाई रु २५ हजार नगद पुरस्कारबाट सम्मानित गर्नुभयो । शर्मा कान्तिपुुर दैनिकका गण्डकी ब्युरो प्रमुख हुनुहुन्छ । सङ्घले पत्रकारिताका माध्यमबाट आर्थिक क्रियाकलाप वृद्धिमा सघाउने पत्रकारलाई हरेक दुई वर्षमा सो पुरस्कारबाट सम्मानित गर्दै आएको छ ।
नेपालको औद्योगिक घरान लक्ष्मी हाउसबाट स्थापित तथा पोखरा उद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित लक्ष्मी विद्यापदक २०७८ बाट विद्यार्थी सम्मानित भएका छन् । सङ्घको ६७औँ साधारणसभाका अवसरमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत वाणिज्य शास्त्रतर्फ स्नातकोत्तर( एमबिएस) मा उत्कृष्ट अङ्क ल्याउने पृथ्वीनारायण क्याम्पसका अनिल पौडेल सम्मानित हुनुभयो । यसैगरी स्नातक (बिबिएस)तर्फ उत्कृष्ट अङ्क ल्याउने कन्या क्याम्पस पोखराकी ममता शाह तथा स्नातक (बिबिए) तर्फ उत्कृष्ट अङ्क ल्याउने पोखरा कलेज अफ म्यानेजमेन्टका विनु श्रेष्ठलाई नगद र पदकबाट सम्मानित गरिएको हो ।
मुख्यमन्त्री पोखरेलले उहाँहरूलाई सम्मान गर्नुभएको थियो । अनिलले नगद रु २५ हजार तथा ममता र विनुले जनही रु १५÷१५ हजार, पदक तथा प्रमाणपत्र प्राप्त गरेको गर्नुभयो । यसैगरी सङ्घले हरेक दुई वर्षमा प्रदान गर्दै आइरहेको ‘पोउवा सङ्घ उत्कृष्ट वस्तुगत सङ्घ सम्मान २०७८’ बाट पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएशन सम्मानित भएको छ ।

प्रतिकृया दिनुहोस्