Pokharapatra National Daily

११ देशका राजदुतले गरे हाइकिङ

विश्वपर्यटन दिवसको अवसरमा पोखरामा ११ देशका राजदुतहरुले हाइकिङ गरेका छन ।
गण्डकी प्रदेश सरकार, पोखरा पर्यटन परिषद, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, ट्रेकिङ एजेन्सी एसोसिएसनअफ नेपाल (टान) पश्चिमाञ्चलको समन्वयमाभएको कास्कीकोट क्षेत्रमा भएको हाइकिङमा सहभागीहरुलाई स्थानीय, महिला समुह, क्लव, पर्यटन ब्यवसायी तथा जनप्रतिनिधिले स्वागत गरेका थिए । पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न आइतबार ११ वटा देशका राजदुत पोखरामा आएसंगै उनीहरुले सोमबार कास्कीकोटमा हाइकिङ, फेवातालमा वोटिङ, डेविडफल्स अवलोकन सहितका पोखराका पर्यटकीय गन्तव्यहरुको अवलोकन समेत गरेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशिराम भण्डारीले बताए । साथै उक्त टोलीलाई आइतबार होटल बाराहीमा र सोमबार बुमह््याङ रेष्टुरेण्टमा रात्रिभोजमा सरिक गराइएको थियो भने सोमबार बेलुका पोखराको लेकसाइडमा आयोजना भएको मिनि सडक महोत्सवमा सहभागी भएका थिए ।
विगत दुई बर्षदेखि ठप्प भएको पोखरा क्षेत्रको पर्यटन विश्वपर्यटन दिवसको अवसरमा सुरु भएको उक्त अभियानले यस क्षेत्रको पर्यटन खुल्ला सहित सुरक्षित भएको आफुहरुलाई महशुस भएको पोखराका पर्यटन व्यवसायीहरुले बताएका छन् । पर्यटन दिवसमा पोखरामा आयोजित विभिन्न कार्यक्रमले पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने आफुहरुले विश्वास लिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । अझै केही पर्यटन व्यवसायीहरुलाई सरकारले कोरोना बिरुद्धको खोप उपलब्ध गराएर आगन्तुक पाहुनालाई सहज ढंगले घुमघामको वातावरण सृजना गर्न उनले माग गरे ।
गण्डकी प्रदेश सरकारको पहल तथा निजी क्षेत्रको सहकार्यमा ११ देशका राजदुतहरु पोखरामा आएका हुन् । कोभिड १९ ले थलिएको पोखरा क्षेत्रको पर्यटन क्षेत्र खुल्ला भएको सन्देस दिन पनि उक्त कार्यक्रम कोषेढुंगा सावित हुने भएकोे पोखराका पर्यटन व्यवसायीहरुको बुझाई रहेको छ । विश्वपर्यटन दिवसको अवसरमा पोखरामा जर्मनी, दुबई, दक्षिण कोरिया, उत्तर कोरिया, कतार, साउदी अरेबिया, थाइल्याण्ड, बंगलादेश, इजिप्ट, मलेसिया, फिल्याण्डका राजदूत पोखरा आएको गण्डकी प्रदेशको पर्यटन उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्माका प्रेस संयोजक सुदिप ढुंगानाले बताए ।
सोमबार पोखराको लेकसाइड क्षेत्रमा बेलुका मिनी स्ट्रिट फेस्टिभल सञ्चालन भएको कार्यक्रममा आन्तरिक पर्यटकहरुको साथमा ११ दशेका राजदूत, कुटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधिलगायतको सहभागिता रहेको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए । उक्त कार्यक्रमले आफुहरुमा थप जागरुक बनाएको उनले जनाए । कोरोनाले गर्दा प्रायः सुनसान भएको लेकसाइड क्षेत्र सोमबार पर्यटन दिवसको दिन सोमबार बेलुका देखि चहलपहल ह्वात्तै बढेको छ । दिनभर जसो मौसमले साथ दिएको भएपनि बेलुकापख करिब ७ः०० बजे देखि सिमसिम पानी पर्दा आन्तरिक केही पर्यटक पानीमा भिज्दै महोत्सवमा सहभागि भएका थिए ।

प्रतिकृया दिनुहोस्