Pokharapatra National Daily

पोखरा क्षेत्रमा सेतो पुतलीको संक्रमण, पुतलीबाट बच्न चिकित्सको सुझाव

यस बर्ष पनि पोखरा क्षेत्रमा सेतो पुतली (सापु) को संक्रमण सुरु भएको छ । अघिल्ला बर्ष जस्तै यस बर्ष पनि पोखरा क्षेत्रमा सेतो पुतलीको संक्रमण देखा परेको चिकित्सकहरुले बताएका छन् ।
पोखराको हिमालय आँखा अस्पतालमा हाल सेतो पुतली शंक्रमणको कारण उपतार गर्न आउनेहरुको संख्या बृद्धि हुदै आएको नेत्र रोग विशेषज्ञ डा. इन्द्र महर्जनले बताए । विगत दुई साता देखि पोखरा क्षेत्रमा सेतो पुतलीको संक्रमण देखा परेको उनले बताए । पछिल्लो दुई हप्तामा सेतो पुतलीको झुसका कर्णहरु बिजेका कारण आँखामा पिप समेत परेर शल्यकृया गर्नु परेको उनले जनाए । आँखामा सेतो पुतलीको झुस बिजेर रातो र सुनिएका करिब २० जना बिरामीहरु हिमालय आखाँ अस्पतालमा उपचार गर्न आएको नेत्र विशेषज्ञ डा. महर्जनले जनाए ।
दुई हप्तामा सेतो पुतलीको शंक्रमणबाट अस्पतालमा करिब २० जना आँखाका बिरामीहरु आएको उनले जनाए । प्रायः गरी भदौं र असोज महिनामा देखापर्ने सेतो पुतलीको झुसका कर्णहरु आँखामा पर्न गएमा समयमै उपचार हुन नसके आँखाको ज्योति नै गुम्न सक्ने डा.महर्जनले चेतावनी दिएका छन् ।
खाँखा रातो र सुनिएको अबस्थामा जति सक्दो छिटो आँखा अस्पतालमा गएर उपचार गर्दा निको हुने उनले जनाए । आखाँमा पिप परेको अबस्थामा आखाँमा सुई लगाउने र आखाँको अप्रेसन गर्ने दुई ढंगबाट उपचार गर्न सकिने भएको डा. महर्जनले जनाए । केही समय अघि ५ बर्ष मुनिका बावबालिकाहरुमा सेतो पुतलीको शंक्रमण देखा परे पनि पछिल्लो ५ बर्ष यता सवै उमेर समुहका व्यक्तिमा सेतो पुतलीको शंक्रमण देखा पर्न थालेको उनले जनाए । अस्पतालमा हालसम्म पोखरा सहित बागलुङ र म्याग्दी लगायतबाट आँखाका बिरामीहरु आउने गरेको डा.महर्जनले जनाए । केही बर्ष पहिला एक बर्ष बिरायर मात्र पश्चिम तथा पोखरा क्षेत्रमा देखिन थालेको सेतो पुतली पछिल्ला बर्षबाट देशका धेरै ठाँउमा देखा पर्न थालेको उनले बताए ।
सेतो पुतली संक्रमित भएका बिरामीलाई समयमै वा एक दिन (२४ घण्टा) भित्र उपचार गर्न सम्बन्धित अस्पतालमा पुर्याउन सकेको खण्डमा सुइ, अप्रेशन, औषधि कुनै विधिबाट उपचार सम्भव हुने डा.महर्जनले दाबी गरे । पोखरामा केही बर्ष देखि सेतो पुतली आतंक जस्तै भएको छ । ५ बर्ष मुनिका बालबालिकाहरुमा सेतो पुतली संक्रमण बढी हुने हुँदा यसबाट जोगाउन उनले आग्रह गरे । सेतो पुतली संक्रमण भएको एक दिन भित्र उपचार गर्न आँखा अस्पतालमा पुगेमा शतप्रतित जसो उपचार गर्न सकिने, दुई दिन पछि जादा ५० प्रतिशत आँखाको ज्योति गुम्ने जोखिम हुने, तेस्रो दिन पछि जादा ९० प्रतिशत जसो जोखिम हुने भएको डा. मर्हजनले जनाए । सेतो पुतली संक्रमणले कालो आँखाको भागमा सेतो देखिनु जहाँ ब्याक्टेरिया समेत देखिने गरेको चिकित्सकले बताएका छन्। उनले भने ‘आँखामा एन्टिबायोटिक इन्जेक्सन लगाउँदा आँखामा जमेको पिप हटाउन र ज्योति बचाउन सकिन्छ ।’ सेतोपुतलीको रियाक्सनले समयमै उपचार हुन नसके आँखाको रेटिना सहितको भाग नै नष्ट पार्ने डा.महर्जनले दाबी छ । यस्तो संक्रमणबाट बचाउन सबै सरोकारवाला निकाय सजग हुन डा. मर्हजनले आग्रह गरे ।

प्रतिकृया दिनुहोस्