
गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) को बिषयमा सन्तुलित ढंगले निकास दिनुपर्ने बताएका छन् । अनेरास्ववियू(क्रान्तिकारी) पृथ्बीनारायण क्याम्पस कमिटिको सोमबार क्याम्पसमा सम्पन्न भएको ११ औं सम्मेलनको उद्घाटन गर्दै मन्त्री बरालले एमसीसी नेपालको हितमा हुने गरी संसोधन गरेर लागु गर्न सकिने बताएका हुन् ।
नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य समेत रहेका मन्त्री बरालले भने “नेकपा हुदा जुन कार्यदलले धेरै मेहनद गरेर पार्टीलाई बुझाए अनुरुप मान्न तयार भएमा अब एमसीसीको बिषयमा धेरै बहस गर्न पर्दैन, यसमा धेरै अल्झीन आवश्यक छैन, केही बुंदा संसोधन गरेमा त्यसले नेपाललाई हित हुन्छ ।” विदेशी लगानी भित्राउने बिषयमा देशको अस्मिता, स्वाभिमान, राष्ट्रिय अखण्डतालाई धरापमा पार्न नहुने मन्त्री बरालको भनाई छ । उनले भने “हामी विद्रोही मात्र होइनौं, हामीले सधै बिरोध गरेर मात्र हुदैन, त्यसको सन्तुलित निकास के हुन सक्छ त्यसमा हाम्रो पार्टी प्रष्ट छ, विबादित बुंदामा संसोधन गरी नेपालको राष्ट्रिय हित हुने कुरामा हामी सकरात्मक छौं ।” संघियता, धर्मनिरपेक्षता, समानुपातिक, समावेसीता, सामाजिक न्याय जस्ता बिषय रगतसंग साटेकोले यस्ता मुद्धा नेपालको इतिहासमा अन्य शक्ति भन्दा माओबादी केन्द्रले उठाउदै आएको मन्त्री बरालले दाबी गरे । उनले भने “हाम्रा बिद्यार्थी संगठन, जनबर्गीय संगठन किन सुकेका छन, हाम्रो सिंगो पार्टी किन सुकेको छ, जनमतबाट हामी किन पछाडि छौं, आजको चिन्ताको बिषयमा यहाँ नेर हो, हिजोको युद्धकालको मोडल त प्रयोग गरेनौं, साच्चै अहिले फरक परिवेशमा आएका छौं यसमा हामीले गम्भिर समिक्षा गर्नु पर्ने छ ।”
सिप मुलक शिक्षा आवश्यक भएको मन्त्री बरालको भनाई थियो । उनले भने “सिप मुलक शिक्षा आजको आवश्यकता हो, सिप अनुसारको काम, काम अनुसारको दाम हुनु पर्छ, बिना सिप विदेशीको खाँडीमा लाखौं नेपालीले पसिना बगाउन बाध्य भएकाछन् ।” नेपाली कम्यूनिष्ट एक हुनु जरुरी रहेको उल्लेख गर्दै मन्त्री बरालले केही प्रयास असफल भए पनि पुनः हुन आवश्यक भएको जनाए । स्वभाविक रुपमा विकृति विसङगतीका बिरुद्ध बिरोधका आवाजहरु जारी राख्न बिद्यार्थी संगठनलाई आग्रह गर्दै मन्त्री बरालले असल काम गर्नेलाई सम्मान गर्न सुझाव दिए ।
पोखराको पृथ्बीनारायण क्याम्पसमा शहिद स्मृति पार्क बनाउन बिद्यार्थीहरुले राखेको प्रस्तावलाई मन्त्री बरालले पार्क सहितको भौतिक पूर्वाधार निर्माण गर्न आवश्यक सहयोग गर्ने जनाए । कार्यक्रममा माओबादी केन्द्र कास्कीका सचिवालय सदस्य एवं बिद्यार्थी नेतृ प्रविणा अधिकारीले शैक्षिक माफिया बिरुद्ध शिक्षा क्षेत्रमा देखिएको विकृति र विसङगती बिरुद्ध अब बिद्यार्थी संगठनहरुले आन्दोलन गर्नुपर्ने बताइन्। नेपाल राष्ट्रिय प्रध्यापक संगठन पृथ्बीनारायण क्याम्पस इकाई अध्यक्ष विपिन अधिकारीले एमसीसीको बिषयमा पार्टीहरुको पुष्ट धारण आउनु पर्ने बताए ।
अनेरास्ववियू(क्रान्तिकारी) पृथ्बीनारायण क्याम्पस कमिटिका अध्यक्ष वसन्त भट्टचनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अनेरास्ववियू(क्रान्तिकारी) पृथ्बीनारायण क्याम्पसका इन्चार्ज त्रिदीप गुरुङ, सचिव सुजन बास्तोला, सहसचिव कासीराम पौडेल लगायतले नेपालमा रहेको दुई प्रकारको शिक्षा नितीको अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । यसैबिच, अनेरास्ववियू (क्रान्तिकारी) पृथ्बीनारायण क्याम्पस कमिटिको सोमबार पोखरामा सम्पन्न भएको ११ औं सम्मेलनले कासीराम पौडलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
त्यसै गरी उपाध्यक्षहरुमा सुवास पौडेल, सरोज काफ्ले, पुजा अधिकारी र रमेश विश्वकर्मा(सन्जु), सचिवमा चिरन्जिवी अधिकारी, सह—सचिवमा राम शर्मा पौडेल, कोषाध्यक्षमा नेहा गुरुङ रहेका छन। त्यस्तै संगठन प्रमुखमा मनिस तामाङ, छात्रा विभागमा सफलता तिमिल्सिना, बिद्यार्थी स्वयम सेवक प्रमुखमा खेम गुरुङ रहेका छन् ।