Pokharapatra National Daily

गुट रहित काँग्रेस बनाउन मेरो उम्मेदवारीः श्रेष्ठ

प्रकाश डोटेल
स्याङ्जा, भदौ १६

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले नेपाली काँग्रेसको घोषित १४ औं महाधिबेशनमा सभापति पदमा उम्मेदवारी दिने भएका छन् । गुट रहित काँग्रेस बनाउने अभियानलाई सार्थक बनाउन आफूले सभापति पदमा उम्मेदावरी दिन लागेको उनले बताए ।
“गुटैगुट सृजना हुँदा काँग्रेस कमजोर बन्दै गएको छ ।” नेपाली काँग्रेस स्याङ्जाले जिल्ला सदरमुकाममा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै काँग्रेस नेता श्रेष्ठले गुटको अन्त्यसँगै नेपाली काँग्रेसलाई देशकै ठूलो दल बनाउन आफ्नो उम्मेदवार बन्न लागेको समेत दाबी गरे ।
“काँग्रेसलाई सबैको पार्टी बनाउन हिमाल, पहाड र मधेशमा बस्ने आदिबासी जनजाति, दलित, मुस्लिम, अल्पसंख्यकलाई एक साथमा लिएर अगाडी बढ्छु ।” पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता श्रेष्ठले भने, “सबै क्षेत्र वर्गलाई पार्टीमा प्रतिनिधित्व गराउने पहिलो दल नेपाली काँग्रेस हो ।” सनातन धर्मसहितको धार्मिक स्वतन्त्रता आफ्नो एजेण्डा रहेको समेत उनको भनाई थियो ।
आफ्नो जन्मभूमि स्याङ्जा भएकाले यहाँबाट काँग्रेसको सभापतिमा उम्मेदवारी दिने घोषणा गर्दै वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफूलाई साथ दिनुपर्नेमा नेता श्रेष्ठको जिकिर थियो । प्रधानमन्त्री देउवाको सक्रियता भएमा आफू सर्वसहमतिमा सभापति बन्न सक्ने समेत उनले बताए । राजा ज्ञानेन्द्रले तानाशाहि शासन गर्दा समेत आफू कार्यबहाक सभापति भएका बेला ११ औं महाधिबेशन गराएर ईमान्दारितापूर्वक जेलमा रहेका देउवालाई सर्वसहमतिमा सभापतिमा चयन गराएको समेत उनले स्मरण गराए । मलाई विश्वास छ, त्यो ईमान्दारिता र संगठनमा गरेको योगदानको मूल्याङ्कन गरिन्छ उनले भने । वर्तमान सरकार गठबन्धनको भएका कारण प्रधानमन्त्रीलाई सरकार संचालनमा बढि व्यस्तता हुनु परेको नेता श्रेष्ठले सुनाए । काँग्रेसको सभापति भए म सरकारलाई सफल बनाउन र आम नागरिकको आवश्यकता पुरा गराउन पूर्ण रुपमा सहयोग गर्ने उनले प्रतिवद्धता जनाए । गठबन्धनकै भएपनि राम्रो काम गर्दै सरकार अगाडि बढेको उनले बताए ।

प्रतिकृया दिनुहोस्