Pokharapatra National Daily

राम्दीमा पहिरोले एकको मृत्यु, ३ घाईते

श्रीकृष्ण सिग्देल

स्याङ्जा, १३ भदौ
तीन दिनदेखि परेको अविरल बर्षाद्ले स्याङ्जामा पहिरोमा परी १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । जिल्लाको गल्याङ् नगरपालिका १ धार्मिक स्थल रहेको राम्दीमा पहिरोले दुई घर पुरिदा एक जनाको उद्धारकै क्रममा निधन भएको छ भने ३ जना घाईते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र अधिकारीका अनुसार दिउसो ४ बजेतिर माथीबाट आएको पहिरोले पुरिएर वालिङ १४ का धनमाया उम्रा बस्नेतको मृत्यु भएको बताए । अधिकारीका अनुसार पहिरोले घर पुरिदा छत्रदेवी गाँउपालिका ५ गुल्मीका बर्ष ३५ की लक्ष्मी बस्नेत, शैनामैना नगरपालिका १ रुपन्देहीका बर्ष १६ का शिशिर योगी र भीरकोट नगरपालिका ५ का बर्ष ३६ का नारायण तिवारी घाइते भएका छन् । उनीहरुलाई वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी निरिक्षक सहितको टोली र स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि पाल्ला मिसन अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको छ । दिपेन्द्र श्रेष्ठको घर पुरिएपनि मानवीय क्षती भएको छैन भने घाइते बस्नेतले संचालन गरेको होटल पुरिदा मानवीय क्षती भएको छ । पहिरोले सिद्धार्थ राजमार्ग समेत अवरुद्ध भएको छ ।
अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । अविरल बर्षाद्ले जिल्लाका विभिन्न क्षेत्रका ग्रामिण सडकहरु पहिरोले अवरुद्ध गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्