Pokharapatra National Daily

मणिपाल शिक्षण अस्पताल बिक्री

करिब साँढे ३ अर्वमा खरिद भए पनि पुनः एक अर्व लगानी सहित थप सेवा विस्तार गर्ने संचालक पौडेल

रिब २७ वर्ष अघि भारतीय कम्पनीले पोखरा ११ फुलवारीमा संचालनमा ल्याएको मणिपाल शिक्षण अस्पताल पोखरेली युवा व्यवसायीहरुले खरिद गरेका छन् ।
पोखराका दुई चर्चित घरना ग्रुप बतास अर्गनाइजेसन र अटोवेज समूहले मणिपाल अस्पताल तथा कलेज हालै खरिद गरेका हुन् । पोखरेली युवा व्यवसायी संलग्न भएको समुहले उक्त अस्पताल तथा कलेज खरिद गरेसंगै अबको केही दिनमै भारतीय कम्पनी मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपबाट ग्रहण गर्ने भएको अटोवेजका अध्यक्ष युवा व्यवसायी नारायण पौडेलले बताए । करिब ४० रोपनी क्षेत्रफलमा फैलिएको अस्पतालमा हाल ९ सय वेड क्षमताको अस्पताल उक्त समुहले करिब ३ अर्ब ५० करोडको लागानीमा खरिद गरेको उनले जनाए । दुई समुह मध्य बतासको ६० र अटोवेजको करिब ४० प्रतिशत लगानी भएको कम्पनीले जनाएको छ ।
२०५१ सालमा स्थापना भएको गण्डकी प्रदेशकै निजीमा ठुलो अस्पतालको रुपमा स्थापित भएको उक्त अस्पताल खरिद भएसँगै ४ सदस्यीय नयाँ वोर्ड गठन हुने भएको छ । बोर्डमा अध्यक्ष बतास समूहका अध्यक्ष आनन्दराज बतास, उपाध्यक्षमा अटोवेज ग्रुपका अध्यक्ष नारायण पौडेल रहने भएका छन् । अस्पताललाई जनताको अस्पताल बनाउँदै सर्वसाधारणले पनि शेयर हाल्न पाउने गरी पब्लिक लिमिटेड कम्पनीका रूपमा लैजाने योजना समेत कम्पनीले जनाएको छ । आफुहरुले उक्त अस्पताल खरिद गरेसंगै यस क्षेत्रका जनताको सानो देखि गम्भिर प्रकारका बिरामीहरुको उपचार गर्ने अस्पतालको रुपमा स्थापित गर्ने योजना रहेको अटोवेजका अध्यक्ष पौडेलले जनाए । उनले भने “हामीले यस क्षेत्रका जनताको अपनत्व हुने गरी यो अस्पताललाई नयाँ ढंगले संचालन गर्ने रणनितीमा रहेका छौं, परिस्कृत, गुणस्तरिय सहितको सेवा दिन हामी तयार भएका छौं ।” अस्पतालको सेवा विस्तार गर्न पोखरेली समुहले तत्काल करिब एक अर्ब भन्दा बढी लगानी गर्ने भएको पौडेलले जनाए । उक्त कलेजले करिब एक सय जनालाई एमबिबिएस अध्यापनको अनुमति पाएको कलेज हो । अध्यक्ष बतासका अनुसार अस्पताल र कलेजको नाम पाँच वर्षसम्म मणिपालकै रुपमा रहने त्यसपछि कम्पनीले इच्छा अनुसार नाम राख्ने भएको छ ।
मणिपाल नाम उल्लेख गरे अनुरुप भारतीय लगानीकर्तालाई पाँच वर्षको रोयल्टी तिर्ने भएको कम्पनी श्रोतले जनाएको छ । नयाँ ढंगले संचालन हुने भए पनि उक्त अस्पतालमा कार्यरत कर्मचारीहरुलाई समेत नयाँ व्याबस्थापनले व्यबस्थापन गर्ने भएको बताइन्छ । उक्त अस्पताल भारतीय कम्पनीले नेपालमा संचालन गरेको ४९ वर्ष पश्चात नेपाल सरकारलाई हस्तान्तरण गर्ने गरी सुरु गरेको थियो । हाल मनिपाल शिक्षण कलेजमा करिब १ सय ५० जना चिकित्सकहरु कार्यरत रहेकाछन् भने करिब ५ सय भन्दा बढी कर्मचारी रहेका छन् ।

प्रतिकृया दिनुहोस्