Pokharapatra National Daily

सराङ्कोट मेथ्लाङमा कार दुर्घटना हुदाँ एकको मृत्यु, दुई घाइते

पोखरा १८ स्थित सराङकोट मेथ्लाङमा कार दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । गएराति करिब १२ः०० बजे मेथ्लाङ डाँडाबाट पोखराको जरेवर तर्फ आउने क्रममा ग १ च ७२३४ नम्बरको कार सडकदेखि अनियन्त्रित हुँदा सडक डिलबाट तल तर्फ खस्न पुग्दा पोखरा न्यूरोडका करिब ४४ बर्षीय बद्री खत्रीको घटनास्थलमै मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
कारमा सवार भएका पोखराका दुई जना युवतीहरु सामान्य घाईते भएका छन् । उनीहरुको सशस्त्र प्रहरी वल कालिका गण तथा नेपाली प्रहरी र स्थानीयले आइतबार बिहान उद्धार गरी पोखराको सहारा अस्पतालमा पुराएका हुन् । पोखराकी २३ बर्षीया सपना घोताने र पोखराकै २३ बर्षकी किरण अर्याल सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक दीपक केसीले जनाए । उनका अनुसार उक्त कार दुर्घटनाको थप अनुसन्धान भई रहेको छ ।
सशस्त्र प्रहरी वल कालिका गणका शसस्त्र प्रहरी निरिक्षक उमेश ढकाल सहितको टोलीले करिब साँढे दुई घण्टा लगायर करिब दुई सय मिटर तलबाट कार दुर्घटनामा परेकाहरुको उद्धार गरेको थियो । निकै ठुलो खोच र रातिदेखि पानी परेकोले उद्धार गर्न आफुहरुलाई निकै कठिन भएको उनले जनाए । डोरी र स्टेचरको सहायताले सुरक्षाकर्मीले उनीहरुलाई उद्धार गरेका हुन् । भिर तर्फको सडकमा तारवार र रेखाङ्कन नहुदा रातिको समयमा सडक दुर्घटना भएको हुन सक्ने स्थानीय राजु तमिल्सिनाले बताए । पोखरा १८ का वडा अध्यक्ष रणबहादुर थापाले रातिको समयमा कच्ची सडकमा गाडी चलाउदा सावधानी अपनाउन नसक्दा दुर्घटना भएको हुन सक्ने बताए ।
उक्त दुर्घटना भए पश्चात कारमा सवार भएका युवतीहरुले राति करिब २ः०० बजे नै प्रहरीलाई खबर गरे पनि दुर्घटना स्थल पक्ता लगाउन प्रहरीलाई मुस्किल हुँदा विहानै कुर्नु पर्यो । विहान करिब ५ः४५ बजे दुर्घटना स्थलबाट महिलाहरुको आवाज आए पछि स्थानीयले खबर गरेर मात्र प्रहरी दुर्घटना स्थलमा पुगेका थिए ।

प्रतिकृया दिनुहोस्