Pokharapatra National Daily

पहिलो चरणमा पोखराका पर्यटन व्यवसायी र मजदुरलाई खोप

पोखरा पर्यटन परिषद्को समन्वयमा आज पोखराका २५ सय पर्यटनकर्मीलाई खोप लगाइएको छ । पोखराको विभिन्न पाँच स्थानमा पर्यटन सम्बद्ध संघ संस्था लगायत पर्यटन क्षेत्रका मजदुर, कर्मचारी र पर्यटन व्यवसायीलाई प्राथमिकताको आधारमा खोप लगाउन कार्यक्रम सम्पन्न गरिएको परिषद्का महासचिव रामचन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल पर्यटन बोर्ड, होटल माउण्ट कैलाश, होटल बाराही, बुमराङ रेष्टुरेण्ट र खपौदीको द ब्रिजमा गरेर पाँच स्थानमा खोप केन्द्र तोकिएको थियो । प्रत्येक खोपकेन्द्रमा पाँचसय खोपको व्यवस्था गरिएको शर्माले जानकारी दिनुभयो ।
परिषद्का अध्यक्ष गोपीबहादुर भटटराई निकै लामो समयको प्रयास पछि पहिलो चरण सरकारले पर्यटन क्षेत्रलाई २५ सय खोप छुटटाएको बताउनुभयो । “हामीले निकै लामो समयदेखि तीन तहकै सरकारलाई खोपको माग गर्दै आएका थियौ, अहिले पहिलो चरणमा जम्मा २५ सय खोप उपलब्ध भयो ।” भट्टराईले भन्नुभयो । उहाँले पहिलो चरणको खोप फ्रन्टलाइनमा खटिने मजदुर, कर्मचारी र व्यवसायीलाई खोपको प्रबन्ध गरेको जानकारी दिनुभयो । उहाँले २५ सय खोप पर्याप्त नभएको जनाउँदै पुनः बाँकी पर्यटनकर्मीका लागि पनि सरकारले छिटो खोप उपलब्ध गराउनेमा आशावादी रहेको बताउनुभयो । उहाँका अनुसार पोखरामा २० हजार बढी पर्यटन क्षेत्रमा आवद्ध रहेका छन् । खोपकेन्द्रको गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकमार थापाले संयुक्त अनुगमन गर्नुभएको थियो ।
मन्त्री कँडेलले पोखरा पर्यटकीय राजधानी भएकाले पर्यटन क्षेत्रलाइ प्राथमिकता राखेको जनाउँदै छिट्टै बाँकी पर्यटनकर्मीका लागि खोपको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । परिषद्का सदस्य एवम् पर्यटन क्षेत्रमा आबद्ध पश्चिमाञ्चल होटल एशोसिएशन (हान), ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल पश्चिमाञ्चल (टान), नेपाल टुर एण्ड ट्राभल्स एजेण्टस् (नाट्टा), रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान), नेपाल हवाइ खेलकुद संस्था (ना), पोखरा ट्याक्सी व्यवसायी समिति , पर्यटन यातायात व्यवसाय समिति, गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ), पर्वतारोहण संघ गण्डकी (एनएमए) इम्ब्रोइडरी एण्ड गार्मन्ट एशोसियशन (एगा) टे«किङ इक्युपमेन्ट सप एशोसियन (टेसा), महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) , पर्यटन व्यवसायी महिला संघ (टेवान), लगायत २५ वढी संघ संस्था सदस्यहरुले खोप लगाएका परिषद्का उपाध्यक्ष एवम् कार्यक्रमका संयोजक पोमनाराण श्रेष्ठ जानकारी दिनुभयो ।
परिषद्ले पर्यटनकर्मीलाई खोपको सुनिश्चिता नभएसम्म पर्यटन व्यवसाय संचालन गर्न नसक्ने भन्दै “नो भ्याक्सि, नो टुरिज्म” भन्दै सामाजिक सञ्जाल लगायत जिल्ला प्रशासन अगाडि विभिन्न चरणमा दबाबमुलक आन्दोलन समेत गरेको थियो ।

प्रतिकृया दिनुहोस्