Pokharapatra National Daily

पुम्दीकोटको भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्छः मुख्यमन्त्री पोखरेल

पोखरा २२ स्थित पुम्दी भुम्दीको पुम्दीकोटमा निर्माण हुदै गरेको बिशाल महादेवको मुर्ति निर्माण सहितको अन्य भौतिक संरचना निर्माणमा गण्डकी प्रदेश सरकारले पुनः थप सहयोग गर्ने भएको छ ।
पुम्दीकोट कोट विकास समितिले सोमबार पुम्दीकोटमा गण्डकी प्रदेशका मुख्यमन्त्री सहितका मन्त्रीहरुलाई स्वागत तथा सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पुम्दीकोट प्रदेशकै पर्यटकीय एवं धार्मिक क्षेत्रको समेत नयाँ गन्तव्य भएकोले त्यसमा आवश्य पुर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने बताएका हुन् । उनले भने “शिलन्यासको अवसरमा एक पटक पुम्दीकोट आउने मौका मिलेको थियौं, मैले सोचे भन्दा धेरै राम्रो बिशाल महादेवको मुर्ति स्थापना भएको छ, पर्यटकहरु पनि आउन थालेकाले हामी निकै प्रभावित भएका छौं ।” विकासको लागि सरकार एउटा सहजकर्ता भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको विकासको एउटा आधार धार्मिक पर्यटन समेत भएको दाबी गरे । प्रदेशको बजेटसंगै थप बजेट आवश्यक परेमा संघिय सरकारसंगको समन्वयमा केही रकम निकासा गर्न पहल गर्ने मुख्यमन्त्री पोखरेलले बताए ।
प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पुम्दीकोटको बृहत विकाससंगै पुम्दी भुम्दीको सडक निर्माणमा करिब ५५ करोड लगानी आवश्यक भएको बताए । सवैको साथ र सहयोगले अर्थ मन्त्री भएकोमा सवै प्रति आभार व्यक्त गर्दै मन्त्री बरालले आफु स्थानिय भएको नाताले पनि बिशाल महादेवको मुर्ति सहितको थप भौतिक पूर्वाधार निर्माणमा पहल गर्न मुख्यमन्त्री सहितका अन्य मन्त्री समक्ष आग्रह गरे ।
पुम्दीकोट कोट विकास समिति एवं बिशाल महादेव मुर्ति निर्माण समितिका अध्यक्ष उद्योगपति चन्द्रकान्त बरालले उक्त परियोजनामा हाल करिब २५ करोड लगानी भएको बताए । उनका अनुसार समितिसंग हाल ४ करोड ऋण भएको समेत जनाए । करिब ४५ करोडको परियोजना सम्पन्न गर्न पुनः सवैको साथ र सहयोग आवश्यक भएको अध्यक्ष बरालले बताए । मनोरेल सहितको ग्रिनरी पार्क, पार्किङ, तार वार, रेलिङ, स्मृति पार्क लगायतका भौतिक संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ । रातको समयमा ताण्डव नृत्य प्रर्दशन गरी एक रात पर्यटकलाईं पुम्दीकोटमै बसाल्ने अभियानमा रहेको उपाध्यक्ष हिमलाल बरालले बताए । पुम्दीकोटमा हाल सयौंको सङ्ख्यामा पर्यटकहरु आउन थालेको स्थानिय प्रकाश बरालले बताए । कार्यक्रममा सरकारका प्रवक्ता एवं भौतिक पुर्वाधार मन्त्री कुमार खड्का, मन्त्री बिन्दु कुमार थापा लगायतका मन्त्री एवं सांसदहरुको सहभागिता रहेको थियो । उहाँहरुको कार्यकालको सफलताको कामना गर्दै समितिले मुख्यमन्त्री, मन्त्री एवं सांसदहरुलाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्