Pokharapatra National Daily

देउवा पाँचौँ पटक प्रधानमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री देउवाले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । सर्वोच्च अदालतको सोमबारको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । समारोहमा संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी र सञ्चारकर्मीको उपस्थिति थियो ।
सर्वोच्च अदालतको फैसलापछि नेपालको संविधानको धारा ७६(५) अनुसार कांग्रेस संसदीय दलका नेता देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गर्नुभएको छ । नेपालको संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट दुईदुई मन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्रीमा बालकृष्ण खाँड गृह, ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला, जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ हुनुहुन्छ । नवनियुक्त मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
यसै गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौँ पटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका हुन् । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनका सम्बन्धमा परेका विभिन्न निवेदनमाथि सुनुवाइ गर्दै सोमबार पुनःस्थापनाको फैसलाका साथ सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको थियो । सोही फैसलानुसार राष्ट्रपतिले प्रधानमन्त्रीको शपथ गराउनु भएको हो । कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका प्रेरणाबाट राजनीतिमा होमिनुभएका देउवाको जन्म २००३ साल जेठ ३१ गते डडेल्धुराको आसिग्राम–५ रुवाखोलामा भएको हो । उहाँ हाल बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आउनुभएको छ । खासगरी विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय उहाँ विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिनुभएको हो । प्राथमिक शिक्षा गृह जिल्ला, माध्यमिक शिक्षा डोटी र उच्च शिक्षा काठमाडौंँमा हासिल गर्नुभएका उहाँले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गर्नुभएको छ । नेपाल विद्यार्थी सङ्घका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य देउवा राजनीतिशास्त्रमा लण्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसक्नुभएको छ ।
विसं २०४८, २०५१, २०५६ र २०७४ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उहाँ २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी हुनुभएको थियो । विसं २०४८ मा गृहमन्त्री बन्नुभएका देउवाले त्यसपछि पटकपटक गरी चार पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँ पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री हुनुभएको थियो । त्यसपछि उहाँ २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ गतेसम्म दोस्रोपटक प्रधानमन्त्री हुनुभयो । सोही वर्ष असोज १८ मा उहाँलाई तत्कालीन राजा ज्ञानेन्द्रले पदबाट बर्खास्त गर्नुभएको थियो । प्रधानमन्त्री देउवा २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बने पनि राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई असक्षम भन्दै २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गर्नुभएको थियो ।
प्रधानमन्त्री हुँदा उहाँले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेशलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेस (कदमजम) को अवधारणा ल्याउनुभएको हो । त्यस्तै उहाँकै पालामा विशेष वर्ग एवम् समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोग गठन भएका हुन् ।
पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा कांग्रेस विभाजन भई गठित नेपाली कांग्रेस (प्रजातान्त्रिक)का उहाँ सभापति बन्नुभयो । पछि विसं २०६४ मा कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक)को एकतापछि उहाँ काग्रेसको वरिष्ठ नेता हुनुभएको थियो । त्यसपछि विसं २०७२ फागुन २४ मा सम्पन्न कांग्रेसको १३ औँ महाधिवेशनमा उहाँ तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित हुनुभएको थियो । सभापति एवम् संसदीय दलका नेता देउवा व्यवस्थापिका–संसद्को बैठकबाट २०७४ साल जेठ २३ गते चौथो प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो । संविधान कार्यान्वयनका लागि उहाँकै नेतृत्वमा २०७४ सालमा सम्पन्न तीनै तहका निर्वाचनमध्ये प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले पराजय बेहोरेपछि उहाँले २०७४ फागुन ३ गते पदबाट राजीनामा दिनुभएको थियो । सन् २००८ देखि २०१२ सम्म सोसलिष्ट इन्टरनेसनलका उपाध्यक्ष उहाँ सन् २०१३ देखि उक्त सङ्गठनको अन्तरराष्ट्रिय उपाध्यक्ष हुनुहुन्छ ।
प्रजातान्त्रिक आन्दोलनका क्रममा उहाँले पटकपटक गरी १० वर्ष कारागार जीवन बिताउनुभएको छ । नेता देउवाले भारत, चीन, भुटान, माल्दिभ्स, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, डेनमार्क, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्विट्जरल्यान्ड, ग्रीस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, अष्ट्रेलियालगायत मुलुकको भ्रमण गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्