Pokharapatra National Daily

फेवातालको ‘सिल्टेसन ड्याम’ बाढीले बगायो

फेवातालको सिल्टेसन ड्याम खोलाले बगाएको छ । पोखराको फेवातालको सिरान भागमा पर्ने हर्पन खोला र घाँटी छिनामा निर्माण भएको सिल्टेसन ड्याममा गएरातिको पानीको वाहव बढेसंगै खोलाले बगाएको स्थानियले बताए ।
फेवातालमा मिसिने नदीले बर्खायाममा बगाएर ल्याउने ढुङ्गा, बालुवालगायतका गेग्रानका कारण ताल पुरिँदै गएपछि नदीजन्य पदार्थ मिसिनबाट रोक्ने उद्देश्यले प्रदेश सरकार र महानगरको संयुक्त लगानीमा ड्याम तथा पोखरी निर्माण गरिएका थिए । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त लगानीमा ७ करोड ८८ लाख ६२ हजार ५ सय ४१ रुपैयाको लागतमा निर्माण भएको उक्त ड्यामको करिब १० मिटरको भाग खोलाले बगाएको पोखरा महानगरापलिकाका उपमेयर मन्जुदेवि गुरुङले बताइन् । विहीबार खोलाले बगाएको ड्यामको अवलोकन गर्दै उनले जति सक्दो छिटो ड्याम निर्माण प्रकृया अघि बढाउने बताइन । उक्त चेकड्यामको लम्बाइ १ सय मिटर, चौडाइ १ सय मिटर, उचाइ ४ मिटरको रहेको थियो । पोखरा २३ का वडा सदस्य भरतराज भण्डारीले कम गुणस्तरको मेट्रियल प्रयोग भएको, अवैज्ञानिक ढंगले ठाडो खोला हिड्ने ठाँउमा ड्याम बनाइएको र जम्मा भएको सिल्ट्रेसन अवैज्ञानिक ढंगले एका तर्फ मात्र बढी निकाल्ने गरेको कारणले गर्दा ड्याम भत्किन पुगेको दाबी गरेका छन् । उक्त सिल्टेसन ड्याम फुटेसंगै पानीको वहाव बढेकोले ठुलाखेत लगायतको बस्ती समेत जोखिम भएको स्थानिय सूर्य प्रसाद भण्डारीले बताए । ड्याम भत्किएर नदीले पूर्ववत धार परिर्वतन गरेसँगै घरहरू जोखिममा परेपछि स्थानीयवासी घर छाडेर हिँडेका थिए । फेवातालको जलाधार क्षेत्रबाट वर्षेनी एक लाख ४२ हजार मेट्रिक टन ढुङ्गा, माटो, बालुवालगायतका गेग्रान तालमा मिसिने गरेको बताइन्छ । फेवामा आउने गेग्रान रोकेर ताल संरक्षण गर्न भन्दै मुख्य नदीमा सिल्टेसन ड्याम र पोखरी निर्माण गरिएको हो ।
पोखराको फेवाताल संरक्षण गर्न २८ करोड १४ लाख रुपैयाको लागतमा ४ ठाउँमा सिल्टेसन ड्याम निर्माण गरिएको छ भने गत बर्ष पनि सिल्टेसन ड्याम फुट्दा एक जनाको मुत्यु समेत भएको थियो ।
फेवाताल जलाधार क्षेत्र संरक्षण कार्यक्रम अन्तर्गत पोखरा २४ स्थित बेतयनी खोला र लौरुक खोला, पोखरा २३ र २४ को अधेरी खोला तथा पोखरा २३ स्थित हर्पन खोला घाँटी छिना गरि ४ वटा आयोजना मार्फत चेकड्याम र सिल्टपोखरी निर्माण भएको हो । उक्त परियोजनामा २८ करोड १६ लाख १० हजार ९ सय ९२ रुपैयामा लगानी भएको छ ।

प्रतिकृया दिनुहोस्