Pokharapatra National Daily

पोखरा विमानस्थलको निर्माण कार्य जुन १० मा सम्पन्न नहुने डिसेम्वरसम्म समय थप गर्न माग

कोरोनाको कारण राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य प्रभावित भएको छ ।
कोरोनाको कारण पोखरा विमानस्थल निर्माण कार्य समेत प्रभावित भएको पोखरा क्षेत्रीय अन्तर्राट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख विनेस मुनानकर्मीले बताए । गण्डकी प्रदेशको विकासको इन्जिनको रुपमा लिइएको पोखरा बिमानस्थलको निर्माण कार्य सन् २०२१ को जुलाई १० अर्थात यही असार २६ गतेभित्र सक्नुपर्नेमा समय सिमा भित्र नसकिने भएको उनले बताए । पोखरा विमानस्थल निर्माणको जिम्मा लिएको चाइनाको सि.ए.एम.सी. कम्पनीले कोरोनाको कारणले गर्दा समय सिमा भित्र नसकिएकोले गर्दा कम्पनीले ६ महिना समय थप गर्न प्रश्ताव गरेको प्रमुख मुनानकर्मीले बताए ।
गत बर्ष पहिलो लहरको कोरोना र यस चालु आर्थिक बर्षमा पनि दोश्रो लहरको कोरोनाको कारणले गर्दा कामदार तथा निर्माण सामाग्री समयमै व्यबस्थापन गर्न नसक्दा निर्धारित समय सिमाभित्र उक्त परियोजना सम्पन्न गर्न नसकिने भएको मुनानकर्मीले बताए । पोखरा विमानस्थल निर्माण कम्पनीले ६ महिना अर्थात सन् २०२१ को डिसेम्बरसम्मको समय सिमा थप गर्न प्रस्ताव गरेकोले आफुहरुले केन्द्रमा प्रस्ताव पेश गरेको उनले जनाए ।
उक्त आयोजनामा हाल दैनिक जसो १ सय ८५ जना चाइनिज र २ सय ७० जना नेपाली कामदारले काम गर्देै आएको आयोजनाका डेपुटी म्यानेजर ई.कृष्ण प्रसाद पौडेलले बताए । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य हालसम्म करिब ७९ प्रतिशत सम्पन्न भएको उनले जनाए । बाँकी २१ प्रतिशत अन्तिम चरणको फिनिसिङ र केही सामान जडानको काम बाँकी रहेको ई.पौडेलले दाबी गरे ।
उक्त परियोजना करिब ६ महिना अघि नै सक्ने गरी चाइनिज निर्माण कम्पनीले तयारी गरे पनि कोरोनाको कारणले गर्दा थप ६ महिना समय सिमा थप गर्नु पर्ने र अन्तर्राष्ट्रिय हवाई उडान गर्नको लागि पोखरामा थप केही कामहरु गर्नुपर्ने आयोजनाले विभिन्न ठाँउमा जानकारी गराउदै आए पनि त्यसको हालसम्म याक्सनमा काम हुन नसकेको आयोजनाले जनाएको छ । सन् २०१७ जुलाईबाट उक्त परियोजनाको निर्माण कार्य सुरु भएको हो ।
पोखरा विमानस्थल भित्र इन्धन डिपो निर्माण कार्यको लागि नेपाल आयल निगमले ठोस रुपमा काम अघि नबढाएको, हवाई रुटमा पर्ने रिठ्ठेपानीको डाँडा करिब ४० मिटर कटान गर्नु पर्ने त्यसको काम ढिलाइ भएको, बिमानस्थल क्षेत्र भन्दा बाहिर बर्षातको समयमा बग्ने पानी, भित्रि सडक र पृथ्बी राजमार्गको नालाबाट र सिंचाईको नहर बगेर आउने पानीको कारण विमानस्थलको पूर्वी भागमा बाढी पहिरोको समस्या रहेको र पोखरामा ल्याण्डफिल साइड हालसम्म स्थान्तरणको कुनै प्रक्रिया अघि नबढेको ई. पौडेलले गुनासो गरे ।
विभिन्न बिषयमा स्थानीय तह देखि केन्द्रिय सरकार र क्याविनेटको निर्णय समेत आवश्यक भएको पोखरा विमानस्थल निर्माण भएसंगै अन्तर्राष्ट्रिय मान्यता प्राप्त विमान स्थल बनाउनको लागि आधारभूत कुरामा ध्यान दिनुपर्ने पौडेलको भनाई छ ।

प्रतिकृया दिनुहोस्