Pokharapatra National Daily

पोखरामा बन्यो आकासे पुल, टिकटक बनाउनेको भिडभाड सुरु

पोखरामा आकासे पुल निर्माण भएको छ । पोखराको सृजनाचोकमा पोखरा क्षेत्रकै पहिलो आकासे पुल हालै निर्माण भएको पोखरा महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले बताए ।
उनका अनुसार उक्त पुलको माथिल्लो भागमा छानो हाल्न र रंग रोगन गर्न मात्र बाँकी रहेको छ । करिब २ करोड ५४ लाखको लागतमा स्टिल स्टक्चर संरचनामा बनेको उक्त पुलको उचाई भने ८ मिटरको रहेको अध्यक्ष बरालले जनाए ।
उक्त पुलको औपचारिक उद्घाटन भने यही असार महिनाको मसान्तर भित्रै हुने तयारी गरिएको अध्यक्ष बरालले बताए । चारै तर्फ बाटो रहेको उक्त पुल निर्माण भएपछि व्यस्त रहने सृजनाचोकमा बाटो काट्दा सडकमा हुन सक्ने सवारी दुर्घटनालाई समेत यसले केही हदसम्म कम गराउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।
स्व. पर्यटन मन्त्री रवीन्द्र अधिकारीले सांसद विकास कोषको ५० लाख रुपैया लगानी भएको हो भने बाँकी रकम पोखरा महानगरपालिकाले लगानी गरेको अध्यक्ष बरालले जनाए ।
के.एम.जे.बि.एन.एस.पोखरा जे.भि, पोखरा–१७ ले उक्त परियोजनाको जिम्मा लिए पनि प्राविधिक कारणले गर्दा उक्त परियोजना निर्धारित समय भन्दा केही ढिलो गरी सम्पन्न गर्ने भएको हो । २०७६ जेठ २७ गते महानगरले १५ महिनामा सकिने गरी उक्त कम्पनीसंग सम्झौता गरेको थियो । पोखरामा स्मार्ट सिटिको अभियान अन्तर्गत उक्त संरचना पनि एक भएको पोखराका मेयर मानबहादुर जिसीले बताउदै आएका छन् ।
पोखरामा ट्राफिक जामलाई मध्यनजर गदै महानगरपालिकाले सृजनाचोकमा पोखराकै पहिलो आकाशेपुल निर्माण गरेसंगै आवश्यकताको आधारमा अन्य ठाँउमा समेत आकासे पुल निमार्ण गरिने भएको मेयर जिसीले बताए । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड जाने, सभागृहचोक तथा पृथ्बीचोक, राष्ट्रबैंक तथा सिद्धार्थचोक जाने बाटोमा पोखराको पहिलो आकासे पुल निर्माण भएको हो ।
यसैबिच उक्त पुल निर्माण भएको सकिन नपाउदै पुलमा चढेर टिकटक बनाउनेहरुको यति वेला भिड भाड नै सुरु भएको छ । कोरोनाले गर्दा हाल पोखरा क्षेत्रमा निषेधाज्ञा भएकोले गर्दा पनि पुलमा आएका मानिसहरुलाई प्रहरीले भिडभाड नगर्न चेतावनी दिदै आएको छ ।

प्रतिकृया दिनुहोस्