Pokharapatra National Daily

पोखराको सेदीबगरदेखि सराङकोटमा अब केवलकारबाट ८ मिनेटमा

पोखराको लेकसाइडको सेदीबगरदेखि सराङकोट डाँडासम्म जानको लागि अब केवलकारबाट ८ मिनेटमै पुगिने भएको छ ।
अन्नपूर्ण केलवकार प्रा.लि.ले पोखरामा केवलकार निर्माण कार्य सकेसंगै अब केही समयमै ८ मिनेटमै सेदीबगरदेखि सराङकोट पुग्न सकिने भएको अन्नपूर्ण केवलकारका संचालक निर्देशक मध्यका एक तिर्थराज त्रिपाठीले बताए । नेपालीहरुको हकमा जान र आउनको लागि ६ सय र विदेशको हकमा ८ सय र ज्येष्ठ नागरिक, स्थानिय लगायतका व्यक्तिहरुलाई २० देखि २५ प्रतिशत छुटको व्यबस्था गरिने भएको त्रिपाठीले बताए । कोरोना संक्रमणको अबस्था सामान्य भएसंगै केवलकार परिक्षण गरेर आफुहरुले जति सक्दो छिटो व्यवसायीक रुपमा केवलकार संचालनमा ल्याउने तयारीमा रहेको उनले बताए ।
कोरोना कालमै आफुहरुले पोखरामा नयाँ पर्यटकीय गन्तव्यको रुपमा केवलकार निर्माणको कार्य सम्पन्न गरेको निर्देशक त्रिपाठीले जनाए । केवलकारको लागि हाल १८ वटा गुण्डला (डिब्बा) सहित लठ्ठो(डोरी) समेत टाँगेर तयारी अबस्थामा राखिएको उनले जनाए ।
उक्त केवलकारमा एकल र डवल गरी हाल १८ वटा टावर जडान भएको छ । केही दिन अघि केवलकारको लठ्ठो दुई मिनेट चलाएर समेत परिक्षण गरिसकेको त्रिपाठीले बताए । उनले भने “कोरोनाको अबस्था सामान्य भएसंगै हामीले जापानबाट प्राविधिकहरु झिकाएर परिक्षण गर्ने छौं तत्पश्चात हामी अब व्यवसायीक रुपमै जाने तयारी गरेका छौं ।”
पोखराका युवा व्यवसायी कालु गुरुङ सहितको टोलीले पोखरामा करिब डेढ बर्षमा निर्माण कार्य सकिने भनि उक्त केवलकारको शिलान्यास गरे पनि ४ बर्ष भन्दा बढी समय लागेको हो । केवलकारको स्टेशन भवनको संरचना बनावटमा परिवर्तन हुनु, जग्गा बिबाद त कहिले प्राविधिक दक्ष कर्मचारी र कहिले वोल्ट हराउने लगायका समस्याले गर्दा निर्माण कार्य ढिलाई हुदा उक्त प्रोजेक्टका लगानी हाल दोब्बरले बृद्धि भएको निर्देशक त्रिपाठीले बताए । केबलकारमा यात्रा गर्दा हिमाल, ताल, हरियो वन जंगल तथा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने त्रिपाठीले बताए । प्रति घण्टा १ हजार ५ सय जनालाई सेवा दिन सक्ने क्षेमताको केवलकार निर्माण भएको उनले जनाए । केबलकार निमार्ण भए पछि फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट पुग्न सकिने छ । अहिले फेवाताल क्षेत्रबाट सराङकोट जान गाडीबाट करिब ३० देखि ४० मिनेट लाग्छ ।

प्रतिकृया दिनुहोस्