Pokharapatra National Daily

लकडाउनको सदुपयोग गर्दै बाँजो जमिनमा तितेपाती खेती

श्रीकृष्ण सिग्देल

धार्मिक र औषधीका रुपमा प्रयोग हुने तितेपाती व्यवसायीक रुपले स्याङ्जामा खेती गर्न शुरु गरिएको छ । खेतबारी लगायत जताततै त्यसै उम्रने तितेपातीको व्यवसायीकताको थाहा नपाएर खेर गइरहेका बेला स्याङ्जामा एक महिलाले यसलाई व्यवसायीक रुपले खेती गर्न लागेकी हुन् ।
पुतलीबजार नगरपालिका १४ आमडाँडाकी सुनिता क्षेत्रीले अहिले जापनीज जातको तितेपाती खेतबारीमा लगाउन शुरु गरेकी हुन् । लकडाउनले उनले संचालन गरेको हस्तकला व्यवसनय बन्द भएपछि लकडाउनलाई सदुपयोग गर्दै बाँजो जमिनमा उनले तितेपाती खेती शुरु गरेकी छन् । बजारको ग्यारेन्टी पाएपछि क्षेत्रीले करिब २ महिनादेखि बाँजो जमिनमा तितेपाती खेती गरेको बताइन् । महिला उद्यमी समेत रहेकी क्षेत्रीले बाँदरले लगाएको बालीनाली नष्ट गरेपछि खेती गर्न छाडेको जमिनको सदुपयोग गरेको जानकारी दिइन् । विभिन्न जिल्लामा तालिम दिएर धेरै महिलालाई उद्यमी बनाउन सफलता हासिल गरेकी क्षेत्रीले तितोपाती खेतीलाई व्यवसायीक बनाउने अभियानमा जुटेकी छन् ।
बाँदरको समस्याले गर्दा खेतवारी बाँजो राख्न बाध्य थियौ उनले भनिन्, तितेपातीको बिक्री गर्ने जिम्मेवारी काठमाडौ स्थित कम्पनीले लिएको छ । खेतबारी बाँजो राख्न भन्दा यसबाट आम्दानी हुन्छ भने किन नलाउने भनेर खेती शुरु गरे उनले भनिन् । क्षेत्रीले अहिले १० रोपनी जमिनमा तितेपाती लगाउने गरेकी छन् । आर्युवेदीक औषधीका रुपमा प्रयोग हुने तितेपाती दुई दुई महिनामा काट्न मिल्ने क्षेत्रीको भनाई छ । कस्मेटिक आईटम लगायत अन्य सेवन गर्ने पनि यो प्रभावकारी हुने बताइएको छ । तितेपाती जापान निर्यात गरिदै आएको छ । यसको धुलो बनाएर जापान पठाउने गरिएको क्षेत्रीले बताइन् ।
स्याङ्जाका हरेक बस्तीमा बाँदर आतङ्क छ । बाँदरले अन्नवाली नष्ट गरिदिएपछि मानिसहरुले वालीनाली नलगाएर खेतवारी बाँजै राख्न थालेका छन् । बाँदरले नष्ट नगर्ने उत्पादन स्याङ्जाका बाँदर पिडित किसानका लागि यो तितेपातीको खेती उत्तम हुने क्षेत्रीको सुझाब छ । नेपालमा पाईने भन्दा अलि चाम्रो र पातीको पछाडीको भाग सेतो रङ्गको हुन्छ । सुकाएको तितेपाती ५० रुपैया किलोमा बिक्री हुने गरेको छ । क्षेत्रीले शुरु गरेको तितेपातीले साच्चिकै सफलता मिल्यो भने बाँदरले पनि नष्ट नगर्ने र कुनै किराले पनि आक्रमण नगर्ने भएपछि यो खेती फलदायी हुने विश्वास गरिएको छ । चुरा, पोतेको डिजाईन बनाउन महिलाहरुलाई तालिम दिने उद्यमी महिलाले तितेपाती लगाएकोमा छिमेकीहरु पनि दंग परेको क्षेत्रीले बताइन् । आर्थिक आयमा केही गर्छु भन्ने महिलाहरुका लागि स्थानीय सरकारले कुनै चासो नदिएकोमा क्षेत्री दुखी छन् । आफ्नै मेहनतले केही गर्नुपर्छ भन्ने ध्येय बोकेकी क्षेत्रीले व्यवसायमा धैर्यता र लगनशीलता हुने बताउछिन् । युवा प्रतिभा पुरस्कार २०७७ बाट गण्डकी प्रदेशबाट उत्कृष्ट छनोट पर्न सफल क्षेत्री महिलालाई उद्यमी बनाउन सके मात्रै समृद्धि हुने दावी गर्छिन् । तालिम दिदै आएकी क्षेत्रीले तितेपातीलाई व्यवसायीक रुपले गरेको खेतीका लागि स्थानीय सरकारले पनि सहयोग गर्नु आवश्यक देखिएको छ । आयुर्वेदीक औषधीका लागि उपयोगी हुने भएकाले यसको बजारको ग्यारेन्टी रहेको आयुर्वेद चिकित्सकहरु बताउछन् ।

प्रतिकृया दिनुहोस्