Pokharapatra National Daily

सरकार गठनका लागि विपक्षी गठबन्धनको दावी पेश

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी दलको गठबन्धका ३१ प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुखसमक्ष दावी गरेका छन् ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्ति प्रयोजनका लागि शनिबार दिउँसो ३.०० बजेसम्मको समय तोकेर प्रदेशसभा सदस्यलाई शुक्रबार आह्वान गरेकी थिइन ।
प्रदेश सदस्य कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै गठबन्धनमा नेपाली काँग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टी (जसपा) का २ र स्वतन्त्र प्रदेश सदस्य दीपक मनाङ्गे रहेका छन् । प्रदेश सभामा बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको हो । प्रदेश प्रमुखसँग भएको भेटमा मुख्यमन्त्रीमा दाबी पेश गरेका पोखरेलले आफूहरु सबै आएको भन्दै हस्ताक्षर प्रमाणीकरणको व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् । ‘यहाँ सशरीर उपस्थित हुनु भएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङलगायतलाई सनाखत गरियोस् भनेका छौं । हामी त्यसैको प्रतीक्षामा छौं’ पोखरेलले भने ।
प्रदेश प्रमुख पौडेलले आफूले उक्त दावीबारे अध्ययन गर्ने र प्रक्रिया पु¥याएर निर्णय गर्ने बताएकी छन् । लगतै ३१ सांसदले प्रमुख प्रमुखको कार्यालयमै पोखरेलको मुख्यमन्त्री दाबीको पक्षमा हस्ताक्षर गरेका छन् ।
मुख्यमन्त्रीमा दावी पेश गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेस संसदीय दलका नेता पोखरेलले समयको चापका कारण छिटो निर्णय होस् भनेर अनुरोध गरेको जानकारी दिएका छन् । उनले भने, ‘उहाँले भोलिसम्म हेरेर तपाईंहरुलाई बोलाउँछु भन्नुभयो ।’

प्रतिकृया दिनुहोस्