Pokharapatra National Daily

अग्रज पत्रकार बाँस्तोलाको निधन

 

अग्रज पत्रकार यज्ञप्रसाद बास्तोलाको निधन भएको छ ।
नेपाल पत्रकार महासंघ कास्कीका सदस्य तथा अग्रज पत्रकार बास्तोला ७० वर्षको उमेरमा उनको निधन भएको उनको परिवारले जनाएको छ । कोभिड—१९ (कोरोना भाइरस संक्रमण) भई चरक मेमोरियल अस्पतालमा उपचाररत बास्तोलाको बिहीबार बिहान ३ः०० बजे उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ । केही दिन अघि कोरोना संक्रमण भई पोखराको रिजनल अस्पतालमा उपचार भई घर फर्किएका उनको स्वास्थ्यमा एकाएक समस्या आएसंगै बिहीबार उनलाई चरक अस्पताल पुराइएको थियो । अग्रज पत्रकार बास्तोलाको विहीबार पोखराको तुल्सीघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । पोखरा १९ पुरुन्चौर काउरे स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ५ बस्दै आएका बास्तोलाका २ श्रीमती, ३ छोरा, १ छोरी रहेका छन् ।
यसैबिच नेपाल पत्रकार महासंघले उनको निधन भएको घटना प्रति गहिरो दुःख व्यक्त गरेको छ । महासंघले बिहीबार अस्पताल परिसरमै उनको स्मृतिमा श्रद्धान्जली सभा समेत गरेको छ । महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेल, महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, सचिव माधव बराल, कोषाध्यक्ष कृष्ण दवाडी, सल्लाहकार दीपेन्द्र श्रेष्ठ, अग्रज पत्रकार पुण्य प्रसाद पौडेल, पत्रकार हरि बास्तोला, दीननाथ बराल सहितको टोलीले उनको पार्थीव शरीरमा पुष्पा गुच्छा अर्पण गर्दै उनले पत्रकारीता क्षेत्रमा पुराएको योगदानको बारेमा प्रशंसा समेत गरिएको थियो ।
महासंघ कास्कीले बिहीबार शोक विज्ञप्ति मार्फत यस दुखद् घडीमा बास्तोलाको आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । पीडादायी क्षणमा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना समेत महासंघले व्यक्त गरेको छ । पोखरा १९ पुरनचौरमा विस २००८ कात्तिक २५ गते जन्मेका बास्तोला सादगी, इमानदार, सनातन हिन्दू धर्म, योगमा सर्मपित र मिलनसार रहेको महासंघले जनाएको छ । उनले माइक्रोन्युज दैनिक, पोखरापत्र दैनिक, माछापुच्छ«े एफएम, आदर्श समाज दैनिक लगायतमा आबद्ध भएका थिए ।

प्रतिकृया दिनुहोस्