Pokharapatra National Daily

पदयात्रा पर्यटन मजदुरहरुलाई टानको राहत

ट्रेकिंङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान), पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको आयोजना तथा कर्मा फ्लाईट्स फाउन्डेसन नेपालको साझेदारी, नेपाल पर्यटन बोर्डको सहयोग र पोखरा महानगरपालिका वडा नं ६ को समन्वयमा लकडाउनबाट प्रभा िवत पदयात्रा मजदुरहरुको सहयोगार्थ तत्काल राहत स्वरुप खाद्यान्न सामाग्री बितरण गरिएको छ ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै कार्यक्रम संयोजक कृष्ण आचार्यले हालको परिस्थितीमा पदयात्रा मजदुरहरुलाई राहत बितरण अति आवश्यक भएको तर्फ जोड दिए । प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नं ६ का वडाअध्यक्ष जगत बहादुर पहारीले विभिन्न संघसंस्था सँगको सहकार्यमा टानले प्रशंसनीय कार्य गरेको बताउदै यस्तो कार्यको निरन्तरताको कामना गरेका थिए ।
कार्यक्रमका सभापति एवम् टान पश्चिमाञ्चलका अध्यक्ष सुशिल राज पौडेलले राहत बितरण माथि प्रकाश पार्दै नेपालको विभिन्न ठाँउहरुबाट रोजगारीका लागी परिवारसहित घरभाडामा बसेका र बिगतको लकडाउनदेखि नै पदयात्रामा बेरोजगार भै बैकल्पिक दैनिक रोजगारी गरिरहेका मजदुरहरु हाल कोरोनाको दोस्रो लहरको बर्तमानको निशेधाज्ञाका कारण घरबाहिर निस्कने अवस्था नभएका कारण तत्काल रासन राहतको आवश्यकता भएका अति बिपन्न पदयात्रा मजदुरहरुको राहतको लागी यो अभियान गरिएको बताए ।
यो अभियान तत्कालको चुल्हो बाल्ने मात्र अल्पकालिन समस्या समाधानको लागि भएको र नेपालको पदयात्रा पर्यटनले पुनः गति लिएर लयमा फर्कनका अझै समय लाग्ने हुँदा दीर्घकालिन रुपमा पदयात्रामा आश्रित मजदुरहरुको समस्या समाधान र पर्यटनको जनशक्तिलाई जोगाईराख्नका लागी सरकारी तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराई, नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्यद्य टिकाराम सापकोटा र अग्नी कंडेल, नेपाल पर्वतारोहण संघ गण्डकीका अध्यक्ष शेषकान्त शर्मा लगायत आतिथिहरुको सहभागिता थियो । सो कार्यक्रममा पर्यटन प्रहरी पार्दी र वडा प्रहरी कार्यालय बैदामको बिशेष सहयोग रहेको थियो ।
पोखरा ६, शान्तिपाटनस्थित टानको सचिबालय भवन परिसरमा स्वास्थ्य मापदन्डहरुको पूर्ण पालना गरि १३० जना अति बिपन्न पदयात्रा मजदुरहरु, गाईड र सहयोगीहरुलाई सो राहत वितरण गरिएको हो । कार्यक्रमको सञ्चालन टान पश्चिमाञ्चलका सह सचिव रेशम अधिकारीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्