-श्रीकृष्ण सिग्देल
राष्ट्रिय आविष्कार केन्द्र नेपाल र भीरकोट नगरपालिकाको संयुक्त लगानीमा मिनी अक्सिजन प्लान्ट निमार्ण गरिएको छ ।
कोरोना संक्रमणको महामारीमा संक्रमितलाई अक्सिजनको आवश्यकतालाई मध्यनजर गरेर आविष्कार केन्द्र र भीरकोट नगरपालिकाको संयुक्त लगानीमा मिनी अक्सिजन प्लान्ट निमार्ण गरिएको हो । अक्सिजनको अभावमा संक्रमितहरुको मृत्युवरण गरेको खबरहरु बाहिर आएका बेला भीरकोटमा निर्माण भएको अक्सिजन प्लान्टले अब स्याङ्जावासीलाई सहज हुने बताइएको छ । सोमबार एक कार्यक्रमका बिच आविष्कारको टोलीले नगर प्रमुख छायाराम खनाललाई उक्त प्लान्ट हस्तान्तरण गरेको छ । एक पटक १२ जनालाई अक्सिजन दिन मिल्ने गरी निर्माण गरिएको प्लान्ट करिव २० लाखको लागतमा सम्पन्न भएको नगरप्रमुख खनालले बताए ।
नेपालमै पहिलो पटक परिक्षणका रुपमा आविष्कार केन्द्रले निमार्ण गरेको यो प्लान्ट सफल भएको बताएको छ । राष्टिञष्य आविष्कार केन्द्रका मेकानिकल इन्जिनियर रितेश देवले काठमाण्डौमा यसको अनुसन्धान गरेको प्लानलाई भीरकोट नगर अस्पतालमा परिक्षण गर्दा सफलता हासिल गरेको बताए । अब नेपालले अक्सिजन उत्पादनमा कुनै समस्या झेल्न नपर्ने बताउदै इन्जिनियर देवले देशका जुनसुकै भागमा यो प्लान्ट निमार्ण गर्न सकिने बताए । लागतको रुप भने फरक फरक हुने भन्दै इन्जिनियर देवले अहिले सम्म गरेको अनुसन्धानले २५ देखि ३० जना सम्मलाई यो प्लान्टले एकै पटक अक्सिजन दिन सकिनेगरी बनाउन मिल्ने बताए । अहिले भीरकोटमा एक मिनटमा १२ जनालाई ५, ५ लिटरका दरले अक्सिजन दिन मिल्ने उनको भनाई छ । यसका लागि ७ वटा अक्सिजन जेनेरेटर जडान गरिएको छ । १० लिटर अक्सिजन उत्पादन गर्ने ६ ओटा र ५ लिटर अक्सिजन उत्पादन गर्ने १ गरी ७ ओटा अक्सिजन जेनेरेटरले एक मिनटमा ६५ लिटर अक्सिजन उत्पादन हुने उनले जानकारी दिए । अविष्कारका १० जना टोलीले दुईदिनमै यो प्लान्ट बनाउन सफल भएका छन् । अहिले निर्माण भएको मिनी अक्सिजन प्लान्ट विद्युत अवरुद्ध भएपनि दुईघण्टा सम्म काम गर्ने क्षमताको रहेको छ । भीरकोट नगर अस्पतालमा यो प्लान्ट बनेपछि अब जिल्लाका सबै नागरिकलाई अक्सिजनको साहयता लिएर बाँच्न सहयोग पुग्ने बताइएको छ ।
भीरकोट नगर प्रमुख खनालले कोरोना संक्रमणबाट निसास्सीएको स्याङ्जालाई राष्टिञष्य आविष्कार केन्द्रका प्रमुख महाविर पुनको पहलमा निमार्ण भएको अक्सिजन प्लान्टले जिल्लावासीको ज्यान बचाउन गरेको सहयोग प्रति आभार व्यक्त गरे । जुनसुकै पालिकाका नागरिकले सेवा लिन पाउने बताउदै नगर प्रमुख खनालले यो प्लान्ट सफल भएमा ९८ शैया रहेको अस्पतालमा सबै शैयामा पुग्ने गरी प्लान्ट बढाउन सकिने बताए । जिल्लामा अक्सिजनको आवश्यकता परेका बिरामी पोखरा रिफर गर्दै आएको थियो । अब जिल्लामै अक्सिजन सहितको अस्पताल भएपछि पोखरा र पाल्पा जान नपर्ने भएको खबरले स्थानीयमा उत्साह थपिएको छ । गण्डकी प्रदेश नेपाली काँग्रेसका संसदीय दलका उपनेता मेखलाल श्रेष्ठले स्थानीय सरकारको पहलमा बनेको यो प्लान्टको स्वागत गरेका छन् । यो महामारीमा राजनीति भन्दा माथी उठेर सेवाभाव गर्नुपर्ने बताउदै प्रदेश सांसद श्रेष्ठले संघिय सरकार र प्रदेश सरकारले यो प्लान्टका लागि आर्थिक सहयोग गर्न आग्रह गरे ।
हस्तान्तरण कार्यक्रममा वालिङ नगर उपप्रमुख कल्पना तिवारी, अर्जुनचौपारी गाँउपालिका प्रमुख दिर्घनारायण अर्याल, अस्पताल संचालक समितिका अध्यक्ष तोयनाथ अर्याल, भीरकोट नगरका प्रवक्ता दिपेन्द्र क्षेत्री, प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुषाल, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, भीरकोट नगरपालिकाका योजना शाखा प्रमुख यामप्रसाद रेग्मी लगायतका बक्ताहरुले यो महामारीमा भीरकोट नगरपालिकाले मिनी अक्सिजन प्लान्ट निर्माण गरेकोमा धन्यवाद दिएका थिए ।
स्याङ्जाको भीरकोटमा मिनी अक्सिजन प्लान्ट निर्माण
प्रतिकृया दिनुहोस्