Pokharapatra National Daily

खोप खरिदको अनुमति माग्दै वालिङ नगरपालिका

जिल्लाका ११ स्थानीय तह मध्ये कोरोना संक्रमणबाट आक्रान्त बनेको वालिङ नगरपालिकाले कोरोना बिरुद्धको खोप उपलब्ध गराइदिन अनुरोध गरेको छ ।
कोभिड विरुद्धको खोप उपलब्ध गराइदिन वा खोप खरिदको अनुमति दिन वालिङ नगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको हो । नगरपालिकामा संक्रमित संख्या बढ्दै जाँदा नगरप्रमुख दिलिपप्रताप खाँणले मन्त्रालयलाई पत्र लेखेर नगरबासीले खोपको माग गरेकाले ‘कि मन्त्रालयबाट उपलब्ध गराइयोस्, कि हामीलाई खरिद गर्ने अनुमित दिइयोस’ भन्दै पत्रमा आग्रह गरिएको छ । नगर भित्र संक्रमण बढ्दो भएकाले र यसको रोकथामको एउटै मात्र बिकल्प खोप रहेकाले मन्त्रालयसगँ अनुमति मागेको नगर प्रमुख दिलिप्रताप खाँणले बताए । कोरोना भाइरस संक्रमण रोकथाम, उपचार, नियन्त्रण र व्यवस्थापनका लागि खोप बाहेक अर्को बिकल्प नदेखिएकाले अनुमति माग्नु परेको खाँणले बताए । एक व्यक्तिका लागि दुई खोप लगाउनुपर्ने र यसका लागि ८ डलर लाग्ने भएकाले गरिब तथा विपन्न वर्गलाई नगरपालिकाले निशुल्क खोप उपलब्ध गराउने गरी तयारीमा जुटेको खाँणले बताए ।
जिल्लाका अन्य स्थानीय तहमा भन्दा वालिङमा संक्रमण बढ्दो र मृत्यु हुने संख्या पनि बढ्दो रहेकोले नगरपालिकाले यसको रोकथामका लागि पत्रचार मार्फत तत्काल खोप उपलब्ध गराउन माग गरेको हो । दोस्रो लहरको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणबाट वालिङ नगरपालिकामा अहिले सम्म ५ सय ६३ जनामा संक्रमित देखिएको छ भने २ सय ६९ जना निको भएका नगर स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले बताए । मृत्यु हुने संख्या २४ र १० जना संक्रमितलाई गह्रौ नगर अस्पतालमा उपचार भएको र अन्यको होम आइसोलेसनमा उपचार भइरहेको पाण्डेले बताए । संक्रमण घट्दो रुपमा जान थालेको होकी भन्ने देखिएपनि गाँउ गाँउमा कोरोना लक्ष्यण देखिएका बिरामी रहेको थाहा हुन आएपनि टेष्टका लागि नआउदा संक्रमण अझै बढ्दो रुपमा रहेको उनको भनाई छ ।
मंगलबार साझ सम्म जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार संक्रमितको संख्या १७ सय ८३ पुगेको जनाएको छ भने मृत्यु हुने ७९ पुगेको छ । एक महिनाको नतिजा हेर्दा मृत्यु हुने संख्या र संक्रमितको संख्या निकै कम आएको आज देखिएको छ । मंगलबार ५९ जना संक्रमित थपिएका छन् भने २ जनाको निधन भएको छ । यो एक महिनाको अबधीमा सबै भन्दा थोरै संख्या रहेको छ ।

प्रतिकृया दिनुहोस्