Pokharapatra National Daily

अक्सिजन प्लान्टको लागि २ करोड ८० लाख संकलन

बतास फाउन्डेसनको सक्रियतामा पोखरामा स्थापना हुन लागेको अक्सिजन प्लान्टको लागि हालसम्म २ करोड ८० लाख ४४ हजार १ सय ४७ रुपैया जुटेको छ ।
पोखरामा रहेको सामुदायिक अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल अक्सिजन प्लान्ट स्थापना गर्न सुरु गरिएको उक्त अभियानमा हालसम्म उक्त रकमको आश्वासन प्राप्त भएको बतास फाउण्डेसनका अध्यक्ष एवं युवा व्यवसायी आनन्दराज बतासले बताए ।
हाल फेसवुक स्टाटस लेखेर पोखरामा अक्सिजन प्लान्ट स्थापना गर्न खोेज्दा अपेक्षा गरे भन्दा धेरै राम्रो सहयोग जुटेको उनले बताए । सहयोगको प्रतिवद्धत्तासंगै अब जति सक्दो छिटो सुरुमा आफ्नै पैसा लगानी गरेर पनि अक्सिजन प्लान्ट पोखरामा स्थापना गरी छाड्ने आनन्दले विश्वास दिलाएका छन् । भोलि आइतबार नै बतास फाउण्डेसनको नामबाट छुट्टै खाता खोलेर त्यसको एक रुपैया पनि पारदर्शी ढंगले हिसाव किताव राख्ने भएको उनले जनाए । उनले भने “हाम्रो फाउण्डेसनको लागि यो कुनै नयाँ कुरा होइन हामीले यस अघि विभिन्न ढंगबाट करिब ६० करोड मुल्य बराबरको सामाजिक क्षेत्रमा यस्तै काम गर्दै आएका छौं, यस अभियानमा जनताको प्रत्यक्ष सहयोग भएको हुदा थप हामी संवेदनशिल हुने छौं हरेक पैसाको पारदर्शी हामीले देखाउने छौं ।” ढिलोमा ९० दिन भित्र उक्त अक्सिजन प्लान्ट प्रतिष्ठानमै स्थापना गरी आम जनताको लागि राहत हुने उनले विश्वास व्यत्त गरे ।
बतास पोखरा आएको सन्दर्भमा पोखराका मेयर मानबहादुर जिसीसंग भेटघाट गर्न पुगे जहाँ मेयर सावले तपाँईहरुले अक्सिजन अभाव भएको समयमा केही त गर्नु यार मात्र के भनेका थिए । मेयर जिसी भएको स्थलबाटै बतासले आफ्ना केही सहकर्मी एवं युवा व्यवसायीहरुलाई फोन गरे उनीहरुको तर्फबाट सहयोग गर्ने प्रतिवद्धत्ता आएसंगै उनले हठोट गरे पोखराको सामुदायिक अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) मै अक्सिजन प्लान्ट स्थापना गर्ने ।
पोखरामा दुई वटा अक्सिजन प्लान्ट पोखरा अक्सिजन र कालि गण्डकी अक्सिजन प्रा. लि.निजी रुपमा संचालनमा आएका छन । यद्यपी कोरोनाका गम्भिर बिरामीलाई हाल अनिवार्य जस्तो अक्सिजन लगाउनु पर्ने अबस्थाले गर्दा अक्सिजन ग्याँस सिलिण्डर र अक्सिजन ग्याँस व्यबस्थापनमा अझै पोखरामा पनि समस्या भएकोले भोलिको दिनमा थप आवश्यक हुन सक्ने कुरालाई समेत मध्यनजर गरी आनन्दले आफ्नो कम्पनीबाट ५० लाख सहितको अन्यलाई उत्तः योजना सफल पार्न आर्थिक सहयोग गर्न आव्हान गरे । करिब ५ करोड मुल्य बराबरको अक्सिजन प्लान्ट जडानको तयारीमा लागेको बताएका अभियान्ता आनन्दले हालसम्म करिब ३ करोडको सहयोग प्रतिवद्धत्ता आएको जनाए । उक्त उद्योगबाट दैनिक २ सय सिलिण्डिर ग्याँस उत्पादन हुने उनले जनाए । उक्त अभियानमा सहयोग गर्न चहानेले लिना कार्कीलाई ९८०२३११६१२ सम्पर्क गर्न सकिने भएको छ । उक्त अभियानमा समाजका धेरै क्षेत्रबाट सहयोग आउने क्रम जारी रहेको अभियान्ता बतासले
बताए ।

प्रतिकृया दिनुहोस्