Pokharapatra National Daily

प्रदेशमा गठबन्दन सरकार बन्न सकेन

कांग्रेसबाट पिडित भएकाले कांग्रेसलाई समर्थन गर्दिनः थापा

गण्डकी प्रदेशमा नयाँ गठबन्दन सरकार बन्ने सम्भावना टरेको छ । राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले नेपाली कांग्रेस नेतृत्वको नयाँ बन्न लागेकोे गठबन्दन सरकारलाई साथ नदिने भए पछि प्रदेशमा नयाँ गठबन्दन सरकार बन्ने सम्भावना टरेको हो ।
जनमोर्चाकै दुई सांसदको समर्थन पाएको कांग्रेसले आफ्नो पक्षमा ३१ मत पुराउन नसक्दा गण्डकी प्रदेश प्रमुख सीता पौडेलले प्रदेशमा नयाँ सरकार बन्न दिएको तीन दिनको समय सिमा मंगलबार देखि सकिएको छ ।
कास्की सहित प्रदेशमा ११ जिल्लाका ६० सांसद रहेकोमा नयाँ सरकार बनाउनका लागि कम्तीमा ३१ सांसदको समर्थन आवश्यक पर्छ । यद्यपी कांग्रेस नेतृत्वको नयाँ गठबन्दन दलहरुले मंगलबार ३० सांसदको हस्ताक्षर संकलन गरे पनि एक मत नपुगेका कारण नयाँ सरकार बनाउन सकेनन् । विपक्षी गठबन्धनमा काँग्रेसका १५, माओवादीका सभामुख सहित १२ र जनता समाजवादी पार्टीका २ सांसद छन् भने जनमोर्चाका सचेतक पियारी थापा र अर्का सांसद खीलबिक्रम शाहीले हस्ताक्षर गरेका छन् ।
गण्डकी प्रदेशमा जनमोर्चाका थापाले नयाँ सरकार गठनका लागि समर्थन गर्न अस्वीकार गरेसँगै पृथ्वी सुब्बा गुरुङ फेरि मुख्यमन्त्री हुने सम्भावना प्रवल रहेको छ । कांग्रेस सहित गठबन्दन दलहरुले मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ बिरुद्ध सदनमा पेश गरेको अविश्वासको प्रस्ताव उपर छलफल सहित मतदान हुने दिन सोमबार भए पनि एक दिन अघि गत आइतबारमा आफु अल्पमतमा पर्ने बुझेर मुख्यमन्त्री गुरुङले राजिनामा दिएका थिए ।

प्रदेश प्रमुख सीता कुमारी पौडेलले आह्वान गरे अनुरुप मंगलबार साँझसम्म दलहरुले बहुमतसहित सरकारका लागि दावी गरिसक्नु पर्ने छ अन्यथा ठुलो दलको हैसियतमा नेकपा एमालेका संसदीय दलका नेता गुरुङ पुनः मुख्यमन्त्री नियुक्त हुने सम्भावना रहेको छ । मुख्यमन्त्री नियुक्त भए पनि ३० दिनभित्र उनले विश्वासको मत लिनुपर्ने छ । मुख्यमन्त्रीसंग हाल एक स्वतन्त्र सांसद दीपक मनाङे सहित २८ मत रहेको छ भने ३१ मत पु¥याउन थप ३ जना सांसद आफ्नो पक्षमा पार्नुपर्ने देखिन्छ । प्रतिपक्ष दल नेपाली कांग्रेस (१५), माओबादी केन्द्र सभामुख सहित १२ र जनता समाजवादी पार्टी (जसपा) (२) गरी उनीहरुसंग समेत २८ मत रहेको छ ।
गण्डकी प्रदेश सभामा निर्णायक मत भएको राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले आफुले कांग्रेस नेतृत्वको सरकारलाई कुनै पनि हालतमा समर्थन गर्न नसक्ने बताए । उनले भने “कांग्रेसलाई धेरै बर्षदेखि भोगियो, मैले जनता र कार्यकर्ताको दबाबमा कांग्रेसलाई समर्थन गर्न सक्दिन यसमा पार्टीले जस्तो सुकै कारवाही गरे पनि गरोस ।” आफु पहिलेदेखि कांग्रेसबाट पिडित भएकोले गर्दा पनि कांग्रेस नेतृत्व सरकारको पक्षमा हस्ताक्षर नगरेको उनले जनाए ।
जनमोर्चाकी सचेतक पियारी थापाले आफुहरुले नयाँ गठबन्दन सरकारलाई पार्टीको निर्णय बमोजिम हस्ताक्षर गरेको बताइन् । पार्टीले लिएको निती र विधि अनुसार नचल्ने थापाको रहस्य बिस्तारै खुल्ने बताएकी उनले पार्टीको असर कार्यकर्ताले पार्टीले भनेको मान्नु पर्ने जनाइन् । नयाँ गठबन्दन सरकार बनाउने अभिलासाका साथ होटलमा जम्मा भएर नयाँ सरकार बनाउने योजना बनाउदै गरेको कांग्रेस सहितको गठबन्दन दलहरु हाल आ—आफ्नो गन्तव्यमा लागेका छन् ।

प्रतिकृया दिनुहोस्