Pokharapatra National Daily

समृद्ध प्रदेश निर्माणको बलियो आधारशीला– मुख्यमन्त्री गुरुङ

आइतबार राजीनामा दिनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार सञ्चालनको यस अवधिमा समृद्ध प्रदेश निर्माणको बलियो आधारशीला निर्माण भएको बताएका छन ।  राजीनामापछि जारी वक्तव्यमा उनले सरकारले प्रतिपक्षी दल समेतलाई विश्वासमा लिई सरकार सञ्चालन गर्ने संस्कारको विकास गरेको उल्लेख गरेका छन् ।
स्थिरता नचाहनेको अराजनीतिक चलखेलका कारण काम गर्न नसक्ने स्थिति आएको उल्लेख गर्दै उनले स्थिरता नचाहने र विकास विरोधी तत्वको चलखेलका कारण एउटै घोषणापत्रबाट निर्वाचनमा गएको दलले समेत असहयोग गरेकाले काम गर्ने वातावरण नभएको बताएका छन् ।
प्रदेशमा जनताले नेकपा एमालेलाई ठूलो दलका रूपमा सरकार सञ्चालन गर्ने र नेपाली काँग्रेसलाई प्रतिपक्षमा रहने अभिमत दिएको उल्लेख गर्दै उनले जन अपेक्षाअनुसार व्यवहार नगरिएको वक्तव्यमा जनाए ।
जनताको भावना, आकांक्षा र विश्वासको कदर गरेर नै यो प्रदेशलाई अन्यभन्दा अब्बल, उत्कृष्ट प्रदेश सरकार र प्रभावकारी प्रदेशसभा बनाउन आफूहरू सफल बनेको दाबी गर्दै उनले अन्य प्रदेशलाई समेत कतिपय क्षेत्रमा मार्गदर्शन गरेको उल्लेख गरे । सीमित साधन स्रोत र बजेटका आधारमा प्राप्त गरेका उपलब्धि लोभलाग्दो रहेको भन्दै वक्तव्यमा समृद्ध प्रदेश र सुखी नागरिक बनाउने ध्येयमा पुग्ने गरी दिगो विकास लक्ष्य पूरा गर्न सरकार पक्षधर दल मात्रै नभै प्रतिपक्षी दल समेतको विश्वासमा सहकार्य गरेका धेरै अनुभव रहेको उल्लेख गरेका छन् ।
समृद्ध प्रदेश र सुखी नागरिकको आकाङ्क्षा हासिल गर्न अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन सोचका साथ सरकार अघि बढेको बताउँदै उनले अन्तरराष्ट्रिय प्रतिबद्धता, दिगो विकास लक्ष्य, प्रदेशका नागरिकको विकासको चाहना, जननिर्वाचित प्रतिनिधिमार्फत मुखरित जनभावना, विज्ञ तथा सरोकारवालाले दिएका सुझावलाई सधैँ आत्मसात गर्दै अघि बढेको वक्तव्यमा उल्लेख छ ।
प्रदेशको नामकरण र राजधानी निर्धारण सहमतिमै गरी उदाहरणीय राजनीतिक सन्देश दिइएको उल्लेख गर्दै वक्तव्यमा यस अवधिमा प्रदेश लोक सेवा आयोग, गण्डकी विश्वविद्यालय, प्रदेश नीति तथा योजना आयोग, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, प्रदेश खेलकुद परिषद, सूचना प्रविधि पार्क, ताल संरक्षण तथा विकास प्राधिकरण, गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक प्रतिष्ठान, गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान र प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना गरी सञ्चालन गरिएको भनिएको छ । प्रदेश नीति तथा योजना आयोगको गठन गरी योजना तर्जुमा क्षेत्रमा उल्लेख्य काम भएको र योजनावद्ध विकासबाट समृद्धि हासिल गर्न प्रदेशको दीर्घकालीन सोच ‘समृद्ध प्रदेश र सुखी नागरिक’ सहितको प्रथम पञ्चवर्षीय योजना (आव २०७६÷७७–२०८०÷८१) कार्यान्वयनमा ल्याइएको उल्लेख छ । सङ्घ, प्रदेश र नीजि क्षेत्रले कार्यान्वयन गर्ने गरी २३ वटा प्रदेश गौरवका आयोजना निर्धारण गरी प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइएको भन्दै मुख्यमन्त्री गुरुङले प्रदेशभित्र १९५ किमि सडक कालोपत्रे तथा ढलान र ३६४ किमि सडक ग्राभेल गरिएको, ३६ सडक पुलको निर्माण सम्पन्न गरिएको बताए । खानेपानी, झोलुङ्गे पुल, सिंचाइ, विद्युत, नदी नियन्त्रणलगायतका काममा उल्लेख्य प्रगति भएको भन्दै वक्तव्यमा उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ जस्ता कार्यक्रमबाट सर्वसाधारण लाभान्वित बनेको भनिएको छ ।
जिल्ला अस्पतालमा शय्या थप गर्नुका साथै सङ्क्रमितको व्यवस्थापनका लागि क्षमता विकास गर्दै कोभिड–१९ सङ्क्रमितको उपचार गर्ने व्यवस्था गरिएको वक्तव्यमा जनाइएको छ । पोखरा महानगरपालिका¬३३ भरतपोखरीको पशुपतिघाटमा अन्तरराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गर्ने कार्य अगाडि बढ्नुका साथै प्रदेशभित्र एक स्थानीय तह एक खेल मैदानको नीति अनुरूप ५६ गाउँपालिकामा खेलमैदान र २० नगरपालिकामा रङ्गशाला निर्माणमा सहयोग गरिएको भनिएको छ । गण्डकी विश्वविद्यालय ऐन २०७६ बमोजिम गण्डकी विश्वविद्यालय सञ्चालनमा आएको उल्लेख गर्दै वक्तव्यमा पहिलो चरणमा सूचना प्रविधि र चिकित्सा विज्ञान गरी दुई सङ्कायमा पढाइ सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ ।
पोखरा महानगरपालिका¬ ३३ पूँडीटार र नवलपुरको लोकाहा खोलामा प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाको प्रकृया अगाडि बढाइएको, २३ स्थानीय तहमा उद्योगग्राम स्थापनाको काम अगाडि बढेको र २० स्थानीय तहमा सम्भाव्यता अध्ययन भइरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्