Pokharapatra National Daily

पोखरामा अक्सिजन ग्यासको अभाव नहुने कम्पनीहरुको दाबी

थप ३ हजार ग्यास सिलिण्डिर आवश्यक

गण्डकी प्रदेशको राजधानि पोखरामा हाल अक्सिजनको कुनै अभाव नहुने भएको छ ।
पोखरामा दुई निजी कम्पनी पोखरा अक्सिजन प्रा.लि. र काली गण्डकी अक्सिजन प्रा.लि.ले अक्सिजन ग्याँस उत्पादन गर्ने भएकोले गर्दा पोखरामा अक्सिजन ग्याँस अभाव नहुने भएको कम्पनीहरुले दाबी गरेका छन् ।
पोखराका चिकित्सकहरुको बिषेश पहलमा २०६१ सालमा पोखरामा अक्सिजन उत्पादन हुन सुरु भएको हो । पोखरा क्षेत्रमा आवश्यक पर्ने अक्सिजन ग्याँस उत्पादन गर्न आफ्नो कम्पनी तयार रहेको तर आवश्यक सिलिण्डर ग्याँसको भने अभाव हुन सक्ने पोखरा अक्सिजन प्रालिका अध्यक्ष डा. प्रदीप घिमिरेले बताए । उनका अनुसार कम्पनीसंग हाल १ हजार ६ सय वटा सानो ठुला गरी अक्सिजन सिलिण्डर ग्याँस रहेका छन्। दैनिक करिब ४ सयदेखि ५ सय अक्सिजन ग्याँस सिलिण्डर खपत हुने गरेको बताएका अध्यक्ष डा. घिमिरेले गण्डकी प्रदेश सरकार तथा संघिय सरकार समक्ष आफुहरुले पोखरामा करिब ३ हजार वटा खाली अक्सिजन ग्याँस सिलिण्डर जोहो गर्न आग्रह गरेको बताए । कोरोनाको महामारीमा प्रदेश सरकारलाई कम्पनीले प्रति सिलिण्डर ३ सय ५० रुपैयामा उपलब्ध गराउने भएको कम्पनीले जनाएको छ ।
पोखरा अक्सिजन प्रा.लि.ले प्रति घण्टामा २ सय ५० क्यूबिक मिटर ग्याँस उत्पादन गर्ने भएको प्रा.लि.का निर्देशक विनोद कायस्थले बताए । उनका अनुसार पोखरामा हाल पहिलाको तुलनामा ४÷५ गुणाले बढी अक्सिजन ग्याँस खपत हुन थालेको छ । २०७० सालदेखि पोखरामा अक्सिजन ग्याँस उत्पादन गर्दै आएको कालि गण्डकी अक्सिजन प्रा.लि.ले दैनिक प्रति घण्टामा १ सय ५० क्यूबिक मिटर ग्याँस उत्पादन गर्ने भएको प्रा.लि.का निर्देशक कालीदास बरालले बताए । हाल आफुहरु १९ घण्टा खटेर काम गर्दा प्रहरी प्रशासनले आफ्ना कामदारलाई र सवारी साधनलाई अनावश्यक दुःख दिने गरेको उनले गुनासो गरे ।
पोखरामा अक्सिजन ग्याँसको कुनै अभाव नहुने कायस्थ र बरालले दाबी गरेका छन भने पोखरामा ग्याँस सिलिण्डरको थप व्यबस्थापन गर्नु पर्ने उनीहरुको माग रहेको छ । कम्पनिहरुले पोखरामा ठाँउ हेरीकन ४ सय देखि ५ सयमा ६.८ क्यूबिक मिटर अर्थात ४७ लिटरको ठुलो अक्सिजन ग्याँस सिलिण्डर भर्ने गरेका छन् ।
सडक दुर्घटनाबाट सडक अबरुद्ध हुने र बाढी तथा पहिरोले गर्दा पनि सडक अबरुद्ध हुँदा पोखरामा अक्सिजनको अभावमा उपचार गर्न कठिन भएकोले आफुहरुकै पहलमा पोखरामा अक्सिजन ग्याँस उत्पादन गर्न सुरु गरिएको पोखरा अक्सिजन प्रा.लि.का वोर्ड सदस्य डा. बुद्धि बहादुर थापाले बताए ।
विगत १७ बर्ष देखि उक्त कम्पनीमा आफुहरुको करिब ५ करोड बढी लगानी भए पनि मुनाफा भने प्राप्त गर्न नसकिएको उनले गुनासो गरे । उनले भने “यस ग्याँस उच्पादन गर्ने कम्पनीमा अधिकांश हामी चिकिस्तक सहितको करिब २५ जनाको समुह छौं, यद्यपी हामीले आफ्नो सामाजिक उत्तरदाहित्व समेत वहन गरेकोले नाफा भन्दा पनि हामील ाई हाम्रो क्षेत्रमा अत्यावसेक अक्सिजन ग्याँस उत्पादन गर्न सफल भएका छौं यही हाम्रो लागि ठुलो आत्म सन्तुष्टिको कुरा भएको छ ।”

प्रतिकृया दिनुहोस्