Pokharapatra National Daily

प्रदेश प्रमुख पौडेलद्धारा पदभार ग्रहण

गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले बुधबार पदभार ग्रहण गरेकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सोमबार प्रदेश प्रमुखमा नियुक्त गरेसंगै पोखराको प्रदेश प्रमुखको कार्यालयमा पौडेलले पदभार ग्रहण गरेकी हुन् । उनले सोमबार नै पद तथा गोपनीयताको सपथ लिएकी थिइन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकीमा पौडेलसँगै सुदूरपश्चिमको प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई नियुक्त गरेकी थिइन् ।
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई हटाएर राष्ट्रपति भण्डारीले पौडेललाई नियुत्ति गरेकी हुन् । प्रदेशमा देखिएका समस्या समाधानका लागि नियमकानूनअनुसार स्वतन्त्र र निष्पक्ष ढंगले समन्वय र सहजीकरण गरेर अघि बढ्ने बताउँदै उनले यसका लागि सबैको साथ र सहयोग औल्याइन । पदभार ग्रहण कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, उपसभामुख सिर्जना शर्मा, प्रदेश सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति थियो । सो अवसरमा प्रदेश प्रमुख पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । गण्डकी प्रदेश सभाको अनिश्चित कालको लागि स्थगित भएको बिषेश अधिवेशनलाई आफ्नो अनुकुलको निर्णय लिन प्रदेश प्रमुखलाई हटाएर पौडेललाई नियुत्ति गरेको राजनीतिक विष्लेषकहरुले विश्लेषण गर्न थालेका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ बिरुद्ध पेश भएकोे अविश्वासको प्रस्ताव बिरुद्ध मतदान गर्ने कार्यक्रम तय भएको वैशाख १५ गते एकाएक राष्ट्रिय जनमोर्चाका सांसद खिलबिक्रम शाहीले सम्पर्क विहिन भई सदनमा अनुपस्थित भएसंगै सदन स्थगित भएको थियो ।

प्रतिकृया दिनुहोस्