Pokharapatra National Daily

दीपक मनाङ्गे युवा तथा खेलकुद मन्त्रीमा नियुक्त

गण्डकी प्रदेशमा मन्त्रीमण्डल विस्तार गरिएको छ । यस अघि ७ मन्त्रालय रहेकोमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयलाई फुटाएर युवा तथा खेलकुद मन्त्रालय सम्हाल्ने गरी स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा नियुत्ति गरिएको प्रदेश सचिवालयले जनाएको छ ।
विहीबार गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले उनलाई सपथ ग्रहण समेत गराएका छन् । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्री नरदेवी पुनले सम्हालेको मन्त्रालय फुटाउने निर्णय अनुसार गुरुङलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी प्रदेश सरकारले जिम्मा दिएको हो । मनाङबाट नेकपा एमालेको समर्थनमा चुनाव जितेका मनाङ्गेले मंगलबारको प्रदेशसभा बैठकमा स्वतन्त्र सांसदको सिट माग गरेका थिए । बुधबार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा मतदान गर्ने कार्यसूची भए पनि उनी बैठकमा अनुपस्थित भएका थिए ।
कोरोनाको जोखिम बढेका बेला आवश्यक स्वास्थ्य मापदण्ड पालना नगराई २५ जना भन्दा धेरै मानिसहरुको सहभागितामा सानो कोठामा भिडभाड हुने गरी सपथ गराइएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको समेत सहभागिता रहेको थियो । मुख्यमन्त्री गुरुङले आफूविरुद्ध अविश्वासको प्रस्ताव सदनमा पेश भएको अबस्थामै मन्त्रिमण्डल विस्तार गरेका हुन् । ६० सांसद रहेको प्रदेशसभामा एमालेका २७ जना सांसद छन् । उनलाई सरकार बचाउन तीन जना सांसदको आवश्यकता पर्नेछ । अन्य दलहरुलाई भने अविश्वासको प्रस्ताव पारित गर्न ३१ मतको आवश्यक पर्छ । कागें्रसका १५, माओबादी केन्द्रका १२, जसपाका २ र राष्ट्रिय जनमोर्चाका ३ जना सांसद रहेका छन् । माओबादी केन्द्रका दुई मन्त्रीले राजिनामा दिएसंगै हाल भूमि वयबस्था तथा कृषि सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयमा मन्त्री नियुत्ति भएको छैन् ।

प्रतिकृया दिनुहोस्