Pokharapatra National Daily

फेवातालको संरक्षणमा नागरिक समाज जागरुक हुदै

रामसार सुचिमा सुचिकृत भएको पोखराको फेवाताल संरक्षणको लागि माथिल्लो तटिय क्षेत्रमा भएका हामीले राम्रोसंग मोटर बाटो समेत लैजान पाएका छैनौं तर ताल किनारामा रहेका केहीले भने अतिक्रमण अनि मापदण्ड विपरित भौतिक संरचना निर्माण गर्नु के हो यो मेयर साव । फेवाताल किनारामा निर्माण भएको भौतिक संरचना कहिले हटाइन्छ मेयर साव भन्दै हाल सामाजिक संजालमा समेत पोखरेली तथा नागरिकले सोध्न थालेका छन् ।
माफिया र सेटिङको भरमा ताल अतिक्रमण अनि अवैध भौतिक संरचना बन्दै गएको सामाजिक संजालमा पोखरेलीहरुले दाबी गरेका छन्। सार्वजनिक जग्गा संरक्षणमा आफै जागरुक हुनुपर्ने पोखरा महानगरपालिकालाई नागरिक समाज र जनप्रतिनिधिले पटक पटक संरक्षण गर्न दबाब दिदा पनि फेवातालको किनारामा मापदण्ड विपरित निर्माण भएका भौतिक संरचना हटाउन सकेको छैन् । आफुहरुले महानगरलाई फेवाताल किनारामा अवैध रुपमा निर्माण भएको भौतिक संरचना हटाउन पटक पटक माग गर्दै आउदा नटेरे पछि सोमबार जिल्ला प्रशासन कार्यालय कास्की मै पुगेर उक्त भौतिक संरचना हटाउन माग गरिएको पोखराका नागरिक अगुवा राम बहादुर पौडेलले बताए ।
उनले भने “सार्वजनीक स्थलमा जोकोही व्यत्तिले आफुखुसि कुनै भौतिक संरचना बनाउन पाइदैन यदि कसैले भौतिक संरचना बनाएको खण्डमा स्थानिय सरकार र प्रशासनले त्यसलाई कारवाहीको दायरमा ल्याउनु पर्छ ।” सोमबार नागरिक अगुवा पौडेल सहितको एक टोलीले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई भेटघाट गरी सार्वजनिक स्थल फेवातालमा अतिक्रमण र मापदण्ड विपरित भौतिक संरचना निमार्ण भएकोले त्यसलाई तत्काल रोक्न आग्रह गरे । उनले भने “पोखरा महानगरपालिकाबाट खै कहिले याक्सनमा काम हुने हो, अब यसलाई प्रशासनले आफ्नो अधिकार प्रयोग गरी सार्वजनिक सम्बन्धि माथी भएको अतिक्रमण तत्काल रोक्नु पर्यो, यसमा नागरिक समाजको भुमिका कहाँ के गर्नु पर्छ हामी तयार छौं ।” प्रमुख जिल्ला अधिकारी गौतमले सार्वजनिक सम्पत्ति संरक्षणमा आवश्यक पर्ने सुरक्षा व्यबस्था मिलाउन आफुहरु हरपल तयार रहेको जनाए ।
नागरिक अगुवा पौडेल सहितको एक टोलीले आइतबार र सोमबार लगातार रुपमा फेवातालको किनारामा मापदण्ड विपरित निर्माण भएको भौतिक संरचना हटाउन पटक पटक पोखरा महानगरपालिकामा आग्रह गर्दै आएको पौडेलले जनाए । पोखराको मुख्य पर्यटकीय स्थल फेवातालको संरक्षणको मुख्य जिम्मा पाएको स्थानिय सरकार पोखरा महानगरले आफै चासो दियर अवैध रुपमा निर्माण भएका भौतिक संरचना हटाउनु पर्नेमा नागरिक समान जनप्रतिनिधिले समेत पटक पटक जानकारी गराउदा तीन दिन देखि महानगरले कुनै याक्सन लिन नसक्नु महानगरको पनि अवैध भौतिक संरचना निर्माण कर्तासंगको कुनै लेनदेन हुन सक्ने पोखरेलीले आशंका व्यक्त गरेका छन् । पोखराको नागरिक समाजको एक टोली आइतबार फेवातालको किनारमा निर्माण भएको भौतिक संरचनाको अवलोकन गर्दै अवैध रुपमा निर्माण भएको भौतिक संरचना तत्काल हटाउन नागरिक समाजका अगुवा पौडेलले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, प्रमुख प्रशासकिय अधिकृत महेश बराल लगायतलाई आग्रह गर्दै आए पनि हालसम्म केही काम अघि बढ्न नसकेको पौडेलले गुनासो गरे । फेवाताल अतिक्रमण र फेवातालमा मापदण्ड विपरित व्लू स्काई प्याराग्लाईडिङको अवतरण गर्ने स्थल तथा दुना टपरी रेष्टुरेण्टको अगाडीको भागमा हाल करिब १ सय मिटर लम्बाईको ४ फुटको पर्खाल निर्माण भएको छ भने करिब २० ट्रक भन्दा बढी ढुंगा माटो राखेर फेवातालको दलदल भाग पुरिएको नागरिक अगुवा पौडेलले जनाए ।
युवा व्यवसायी दीपेस श्रेष्ठ, मनोज श्रेष्ठ, प्रबेश शाक्य सहितको टोलीले व्यवसायीक प्रयोजनको लागि उक्त क्षेत्रमा फेवातालको सतहबाटै पर्खाल निर्माण गरेको अबस्थामा महानगरले यस अघि करिब ५ पटक हटाए पनि हाल उक्त संरचना बनेको हो । आफुहरुले उत्त जग्गा भाडामा लियर गार्डेन बनाउने उद्धेश्यले केही काम गर्न सुरु गरेको व्यवसायी दीपेस श्रेष्ठले बताए । यस बिषयमा शनिबार गण्डकी प्रदेश सांसद रामजी प्रसाद बराल (जीबन) ले अवैध रुपमा निर्माण भएको भौतिक संरचनाको बिषयमा पोखराका मेयर मानबहादुर जिसी, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, पोखराका नागरिक अगुवा राम बहादुर पौडेल, फेवाताल चारकिल्ला निर्धारण, सिमाङकन तथा नक्साङकन समितिका संयोजक पुण्यप्रसाद पौडेल लगायतलाई जानकारी गराएका थिए । शनिबार र आइतबार पोखरा महानगरपालिकाका मेयर जिसी र प्रमुख प्रशासकिय अधिकृत बरालले मापदण्ड विपरित निर्माण भएको भौतिक संरचनाको बिषयमा छलफल गरेर आवश्यक कारवाही अघि बढाउने प्रतिकृया दिए पनि हालसम्म कुनै कारवाही अघि नबढेको श्रोतले जनाएको छ । नागरिक समाज पोखराका अगुवा पौडेलले फेवातालको अतिक्रमण र अवैध भौतिक संरचना निर्माण हुदा स्थानिय तह पोखरा १८ वडा कार्यालय र पोखरा महानगरपालिका मुकदर्शक भएर बसेको दाबी गरे । मुलुकी देवानी संहिता २०७४ मा उल्लेख भए अनुसार कसैले सार्वजनिक र सरकारी वा समुदायिक जग्गामा निजी वा सार्वजनिक प्रयोजनको लागि कुनै संरचना बनाउन हुदैन्। यदि कसैले सरकारी, सार्वजनिक वा सामुदायिक जग्गामा कुनै संरचना बनाउन लागेमा समबन्धित प्रमुख जिल्ला अधिकारी वा स्थानिय तहले त्यस्तो कार्य तुरुन्त रोक्नु पर्ने प्राब्धान रहेको छ ।
फेवातालको सिमाङकन तथा नक्साङकन समितिका संयोजक पुण्यप्रसाद पौडेलले आफुहरुले दुषिद जग्गा पहिचानमा हाल लाग्दै गर्दा मापदण्ड विपरित भौतिक संरचना बनाउने कार्यलाई महानगरले तत्काल रोक्नु पर्ने बताए । आफुले पनि महानगरका मेयर जिसी र प्रमुख जिल्ला अधिकारी गौतमलाई समेत जानकारी गराएको बताए ।

प्रतिकृया दिनुहोस्