Pokharapatra National Daily

पोखरा महानगरपालिकाले पनि फेवातालको संरक्षण गर्न सकेन

महानगरलाई अटेरी गरी अवैध रुपमा फेवाताल किनारामा भौतिक संरचना धमाधम हुदै

पोखराको फेवाताल संरक्षणको मुख्य जिम्मा पाएको स्थानिय तह पोखरा महानगरपालिकाले संरक्षण गर्न नसक्दा तालको किनारामा अवैध रुपमा भौतिक संरचना धमाधम भई रहेको छ ।
महानगरले याक्सनमा कारवाही गर्न नसकेको कारण हाल फेवातालको अतिक्रमण संगै मापदण्ड विपरित भौतिक संरचना धमाधम भई रहेको स्थानियले बताए । कास्की चापाकोटका हरी पराजुलीले आफुहरुले तालमा माटो पर्छ भनेर सडक बाटो बनाउदा समेत ख्याल गरेको तर तालनै अतिक्रमण गरेर भौतिक संरचना बनाउने मनसायले हाल भौतिक संरचना गर्ने उपर कारवाही हुनुपर्ने उनको माग छ ।
गण्डकी प्रदेश सांसद रामजी प्रसाद बराल (जीबन) ले फेवाताल किनारामा अवैध रुपमा जो कसैले निर्माण गरेको भौतिक संरचना पोखरा महानगपालिका कार्यालयकै सक्रियतामा तत्काल हटाई उनीहरु उपर कारवाही हुनु पर्ने माग गरेका छन्। शनिबार फेवाताल अवलोकन गर्र्न पुगेका सांसद बरालले अवैध रुपमा निर्माण भएको भौतिक संरचनाको बिषयमा पोखराका मेयर मानबहादुर जिसी, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, पोखराका नागरिक अगुवा राम बहादुर पौडेल, फेवाताल चारकिल्ला निर्धारण, सिमाङकन तथा नक्साङकन समितिका संयोजक पुण्यप्रसाद पौडेल लगायतलाई जानकारी गराएका थिए ।
पोखराको मुख्य पर्यटकीय स्थल फेवाताल अतिक्रमण र फेवातालमा मापदण्ड विपरित भौतिक संरचना निर्माण हुने क्रमलाई हाल सकैले पनि रोक्न सकेको छैन्। केही समय अघि व्लू स्काई प्याराग्लाईडिङको अवतरण गर्ने स्थलमा हाल करिब १ सय मिटर लम्बाईको ४ फुटको पर्खाल निर्माण भएको छ भने करिब २० ट्रक भन्दा बढी ढुंगा माटो राखेर फेवातालको दलदल भाग पुरिएको स्थानियले गुनासो गरे । फेवाताल सहित पोखराका ९ वटा ताल विश्वको रामसार सुचिमा सुचिकृत भएका छन्।
दीपेस श्रेष्ठ, मनोज श्रेष्ठ, प्रबेश शाक्य सहितको टोलीले व्यवसायीक प्रयोजनको लागि उक्त क्षेत्रमा फेवातालको सतहबाटै पर्खाल निर्माण गरेको अबस्थामा महानगरले यस अघि करिब ५ पटक हटाए पनि हाल उक्त संरचना बनेको हो । पोखरा महानगरपालिका कार्यालयले ५ पटकसम्म उक्त क्षेत्रमा मापदण्ड विपरित भौतिक संरचना निर्माण नगर्न निर्देशन दिदै एक पटक भौतिक संरचना समेत उठायर ल्याएको अबस्थामा पुनः भौतिक संरचना निर्माण भएकोले त्यसलाई पुनः भत्काउने र भौतिक संरचना जफत गर्ने भएको पोखराका मेयर मानबहादुर जिसीले बताए । उनले भने “उनीहरुलाई हामीले मापदण्ड विपरित भौतिक संरचना नवनाउ भन्ने हो, भन्दा मान्दैनन, चौतर्फी दबाब आए पनि हामीले अवैध रुपमा निर्माण भएका भौैतिक संरचना भत्काउने र निर्माण सामाग्रि जफत गर्ने नै हो ।”
नागरिक समाज पोखराका अगुवा रामबहादुर पौडेलले फेवातालको अतिक्रमण र अवेध भौतिक संरचना निर्माण हुदा स्थानिय तह पोखरा १८ वडा कार्यालय र पोखरा महानगरपालिका मुकदर्शक भएर बसेको गुनासो गरे । आफुहरुको पहलमा केही ठाँउमा फेवातालमा अवैध रुपमा भौतिक संरचना निर्माण नगर्न आव्हान गरे पनि केही महिना पनि पुनः रातरात भौतिक संरचना बन्ने क्रम हाल नरोकिएको उनले दाबी गरे । महानगरलाई यस बिषयमा गम्भिर हुन आफुहरुले पटक पटक आग्रह गर्दा महानगरले हल्का रुपमा यस बिषयलाई लिएको हुदा अवैध रुपमा भौतिक संरचना बनाउनेहरुलाई प्रसय भएको नागरिक अगुवा पौडेलले जनाए । सार्वजनिक जग्गा संरक्षणमा स्थानियका सवै सरोकारवाला निकाय एक जुट हुनु पर्ने उनको भनाई थियो । पोखरा महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रणबहादुर थापाले फेवातालमा मापदण्ड विपरित भौतिक सरचना बनाउने र दलदलभाग पुर्नेहरु बिरुद्ध कारवाहीको लागि पोखरा महानगरपालिकामा जानकारी गराए पनि त्यसको याक्सनका कारवाही नहुदा आफुहरु नै वाक्क भएको जनाए ।
पोखराका धेरै ठाँउमा सार्वजनिक जग्गा अतिक्रमण भएको दाबी गरे । यस बिषयमा सम्बन्धित व्यक्तिहरुलाई सोधपुृछ गर्दा उनीहरु वोल्न चाहेनन्। मापदण्ड विपरित निर्माण भएका भौतिक संरचनाको विवरण पेश गर्न आफुहरुले सम्बन्धित वडामा खबर गरेको महानगरका बरिष्ठ कानून अधिकृत नारायण शर्माले बताए । मापदण्ड विपरित जो कसैले निर्माण गरेको भौतिक संरचना भेटिएमा महानगरले भत्काउने र उक्त सामान समेत जफत गर्ने अधिकृत शर्माले बताए ।
पोखराको फेवातालको बाध मर्मत गर्न हाल तालको पानी सुकाएको मौका छोपी तालको कीनार भागमा भौतिक संरचना निर्माण गर्ने क्रम हाल पनि नरोकिएको स्थानिय शिव देवकोटाले बताए ।

प्रतिकृया दिनुहोस्