Pokharapatra National Daily

नवनिर्वाचित पदाधिकारीको पदस्थापन तथा शपथ ग्रहण

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिका नवनिर्वाचित पदाधिकारीको पदस्थापन एवं शपथ ग्रहण भएको छ ।
महासङ्घ गण्डकी प्रदेश निर्वाचन समितिद्वारा शुक्रबार पोखरामा आयोजित एक कार्यक्रमका बीच प्रदेश समितिका नव निर्वाचित अध्यक्ष नारायण शर्मासहित पदाधिकारी एवं सदस्यको निर्वाचित समितिका संयोजक कोमलनाथ बरालले पद तथा गोपनीयताको शपथ ग्रहण गराए । कार्यक्रममा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिसकेका अवस्थामा यसको कार्यान्वयनका लागि सबै सचेत बन्नुपर्ने आवश्यकता औल्याए । संविधानसँग बाझिने कानून आउन नदिन आफू प्रतिबद्ध भएको बताउँदै उनले जनतालाई दिइने सूचना सत्यतथ्यमा आधारित हुनुपर्नेमा जोड दिए ।
महासङ्घका नवनिर्वाचित केन्द्रीय अध्यक्ष विपुल पोखरेलले महासङ्घका प्रति समाज अपेक्षित भूमिकाका लागि आफूहरू प्रतिबद्ध भएको बताए । श्रमजीवी पत्रकारको हकहितका लागि वर्तमान नेतृत्व प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्नेतर्फ आफूहरू क्रियाशीलताका साथ लाग्ने विश्वास व्यक्त गरे ।
महासंघ गण्डकी प्रदेशका नवनिर्वाचित अध्यक्ष नारायण शर्माले श्रमजीवी पत्रकारका हकहितका मुद्दामा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक बराल, महासङ्घका केन्द्रीय महासचिव रोशन पुरी, सचिव दीपेन्द्र चौहान, प्रदेशसभा सदस्य दीपक कोइराला, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्षका प्रत्यासी दीपेन्द्र श्रेष्ठ, निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायतले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकानम व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्