Pokharapatra National Daily

पर्यटनलाई ब्राण्डिङ सहित प्रवद्र्धन गर्ने रणनीतिक योजनाको मस्यौदा माथि छलफल

 

पोखराको पर्यटनलाई ब्राण्डिङ सहित प्रवद्र्धन गर्न आवश्यक तत्कालीन एवम् अल्पकालीन रणनीतिका बारेमा तयार गरिएको मस्यौदा माथि पोखरामा सरोकारवाला बीच वृहत छलफल गरिएको छ ।
पोखरा महानगरपालिका शहरी योजना आयोग र सृदृढ परियोजनाको सहकार्यमा पर्यटन पुनरुत्थान रणनीतिक योजना सम्बन्धी कार्यशाला गोष्ठिमा कोभिड १९ को असरसँगै पर्यटन क्षेत्रमा देखिएका चुनौतीहरुलाई चिर्दै आर्थिक सामाजिक रुपान्तरणका लागि पर्यटनको दिगो विकास बारेमा सरोकारवाला बीच छलफल गरिएको हो ।
कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि पर्यटन विज्ञहरुको सल्लाह सुझावलाई ग्रहण गरेर पर्यटन मैत्री पूर्वाधार विकासमा महानगरले जोड दिने बताए । उनले पर्यटकलाई आकर्षित गर्न सांस्कृतिक र प्राकृतिक सम्पदा जोगाउन चुनौती देखिएको जनाउँदै पर्यटनमा सामुहिक प्रयासको खाँचो औल्याए । प्रमुख जिसीले आधुनिक विकासका नाममा परम्परागत संस्कृति र मौलिकता गुम्दै गएकोमा चिन्ता व्यक्त गर्दै घुमाउने घरहरु जस्ता धेरै मौलिक संरचनाहरु पोखराबाट लोप हुँदै गएको उनको भनाइ थियो । पर्यटन विश्वविद्यालयको विषयमा पनि महानगरले तयारी गरेको पोखरालाई पर्यटकीय महानगर बनाएर जानका लागि योजना तर्जुमा भइरहेको समेत उनले जानकारी दिए । महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले विश्वव्यापी महामारीले पर्यटन उठ्न नपाउँदै फेरी सुस्ताउने हो की भन्ने चिन्ता देखिएको जनाउँदै समस्याको समाधान सहित निकास खोज्नु पर्ने बेला आएको बताए । उनले पर्यटनकोे दिगो विकासका लागि अहिलेको अवस्थामा आएका रणनीतिक योजनाले दिर्घकालीन विकासको मार्ग कोर्न सफल हुने भएकाले सबैले अपनत्व ग्रहण गर्न सक्ने गरी गोष्ठिलाई सार्थक बनाउनुपर्ने धारणा राखे । प्रतिकुलतालाई कसरी अनुकलतामा परीणत गर्न सकिन्छ भन्ने विषयमा विज्ञता, परामर्शसहित मस्यौदा तयार भएको र यसमा देखिएका कमिकमजोरीलाई सुक्ष्म रुपमा केलाउन सके यसले पोखराको पर्यटनमा एउटा स्पष्ट मार्गचित्र तयार गर्न सक्ने बताए । महानगरका शहरी विकास आयोजना उपाध्यक्ष रामचन्द्र लामिछाने कोभिड १९ का कारणले पर्यटन क्षेत्रले प्रतिकुलता व्यहोरिहको अवस्थालाई दर्शाउँदै अब आउने दिनमा कस्तो रणनीति अपनाउने भन्ने विषयमा रणनीति मस्यौदा तयार भएको बताए । उनले पर्यटन महानगरको अर्थतन्त्रको ढुकढुकी भएकाले कोभिड १९ मा पर्यटनले गुमाएको पक्षलाई महानगरले आफ्नो नीति मार्फत सम्बोधन गर्ने प्रयास गरेको र त्यसको लागि संस्थागत संरचना तयार गरेर जाने सोच रहेको जानकारी दिए ।
अहिले पर्यटन पोखरा राष्ट्रिय दस्तावेजले पर्यटन ३ देखि ५ प्रतिशत मात्र कुल ग्राहस्थ उत्पादना योगदन गरेको देखिन्छ भने पोखराको महानगरमा पर्यटन क्षेत्रबाट प्रत्यक्ष र प्रत्यक्ष २५ देखि ३० प्रतिशत अर्थतन्त्रमा योगदान दिएको उनको भनाइ छ । पोखराको ७५ हजार रोजगार लागि पर्यटन क्षेत्रलाई स्रोत मानिएको छ । उनले महानगपालिकाले नगरसभाबाट ‘पोखरा पूर्वाधार विकास निगम’ नामको लगानी संरचना तयार गरेको र सो संरचना मार्फत पोखरा महानगरपालिका र नीजि क्षेत्रको संयुक्त लगानीमा के कस्तो उद्योग व्यवसाय संचालन गर्न सकीन्छ भन्ने नीतिगत व्यवस्थाको तयारीमा रहेको समेत जानकारी दिए ।
कार्यशालामा पर्यटनविज्ञ एवम् वन क्याम्पस पोखरा उपप्राध्यापक श्रीकान्त खतिवडाले लामो समयको अध्ययन पश्चात तयार गरेको पर्यटन पुनरुत्थान रणनीतिक योजना मस्यौदा प्रस्तुत गरेका थिए । प्रस्तुत मस्यौदामा कोभिड १९ को अवस्थामा ४ वटा उद्देश्य २३ वटा रणनीति र ७६ रणनीतिक कार्यक्रम बारेमा जानकारी गराइएको थियो । उक्त मस्यौदा माथि पर्यटन सम्बद्ध संघ संस्थाहरुले सुझावहरु राखेका थिए । कार्यक्रममा पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष टिकाराम सापकोटा, नेपाल पर्यटन बोर्ड पूर्व कार्यसमिति सदस्य बासु त्रिपाठी, पोखरा पर्यटन परिषदका महासचिव रामचन्द्र शर्मा, नेपाल माउण्टेनियरिङ एशोसियशनका अध्यक्ष शेषकान्त शर्मा, बड्स सोसाइटिका अध्यक्ष मनशान्त घिमिरे, लेखनाथ उद्योग बाणिज्य संघका सदस्य दामोदर भक्त थापा लगायतले क्षेत्रगत सुझावहरु राखेका थिए ।
सो कार्यक्रममा ट्रेकिङ एजेन्सिस एशोसियशन अफ नेपाल (टान) पश्चिमाञ्चल, पश्चिमाञ्चल होटल एशोसियशन (हान), नेपाल एशोसिएशन अफ ट्राभल्स एण्ड टुर एजेन्टस (नाट्टा) रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान), ट्रेकिङ इक्युपमेन्ट सप एशोसियशन (टेसा) नेपाल हवाइ खेलकुद संघ (ना), इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसियशन (ऐगा), होमस्टे एशोसियशन अफ नेपाल (होसान) गाँउ पर्यटन विकास मञ्च (भिटोफ), महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ), पर्यटन व्यवसायी महिला संघ (टेवान), पोखरा उद्योग वाणिज्य संघ लगायतका सलगायतका संस्थाको संस्थागत प्रतिनिधित्व रहेको थियो ।

प्रतिकृया दिनुहोस्