Pokharapatra National Daily

वालिङ सर्वोत्कृष्ट नगरपालिका

स्मार्ट सिटीका रुपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिका देशकै सर्वोत्कृष्ट भई पुरस्कृत भएको छ ।
शहरी योजना, वातावरण, विपद् जोखिम व्यवस्थापन र उत्थानशीलतामा वालिङ नगरपालिका देशकै सर्वोत्कृष्ट नगर घोषित भएको हो । नेपाल नगरपालिका सङ्घको २८ औँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौँमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणलाई सर्वोत्कृष्ट नगरपालिकाको पुरस्कार प्रदान गरेका हुन् ।
सर्वोत्कृष्ट नगरपालिका घोषणा भएसँगै प्रमुख खाँणले आगामी दिनमा काम गर्नका लागि थप ऊर्जा तथा प्रेरणा मिलेको प्रतिक्रिया दिए । “वालिङ नगरपालिका नेपाल नगरपालिका सङ्घ, विभिन्न दातृ निकायसँग हातेमालो गर्दै विकासको गतिमा अगाडि बढिरहेको छ”, उनले भने, “हामीले गरेको कार्य देशभरकै सर्वोत्कृष्ट रहेको भनी मूल्याङ्कन गर्नुहुने मूल्याङ्कनकर्ताप्रति नगरपालिकाको तर्फबाट आभार व्यक्त गर्दछु ।” नगरपालिका सर्वोत्कृष्ट घोषित भएसँगै आगामी वर्षहरुमा थप बजेट विनियोजन भएर आउने नगर प्रमुख खाँणले बताए । वालिङ नगरपालिकाले शहरी विकासका क्षेत्रमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण गरी विगत दुई वर्षदेखि कार्यान्वयनका चरणमा रहेको नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले बताइन । नगरपालिकाले यहाँका नागरिकलाई विपद्जन्य जोखिमका कारण हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै नागरिकको सुरक्षाका लागि निरन्तर कार्य गर्दै आइरहेको र वर्षायाममा जोखिम सम्भावित बस्तीका नागरिकलाई नजिकैको विद्यालयमा स्थानान्तरण गर्ने कार्य गरिएको उनले बताइन । पहिरोका कारण विस्थापित परिवारकालागि स्थानीय तहमै व्यवस्थापनका लागि समिति गठन गरी व्यवस्थापनमा नगरपालिका रहेको उहाँको भनाइ थियो । यसअघि वालिङ नगरपालिका नेपाल नगरपालिका सङ्घको २३ औँ स्थापना दिवसका अवसरमा देशभरका २१७ नगरपालिकामध्ये सर्वोत्कृष्ट घोषित भई रु एक लाखको पुरस्कार प्राप्त गरेको थियो । नगरपालिकाले उत्कृष्ट सेवा प्रवाह, शहरी योजना, सुशासन, फोहोरमैला व्यवस्थापनलगायतका विषयवस्तुलाई मूल्याङ्कन गर्दै वालिङ सर्वोत्कृष्ट बन्न सफल भएको थियो । यसअघि सङ्घीय तथा स्थानीय विकास मन्त्रालयले २०७४ सालमा देशभरका पालिकामध्ये सर्वोत्कृष्ट सफा नगरको रुपमा वालिङलाई पुरस्कृत गरेको थियो । नेपाल नगरपालिका संघले विभिन्न तीन विधामा देशभरका नगरपालिकामध्येबाट स्याङ्जाको वालिङ नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र झापाको कन्काई नगरपालिका सर्वोत्कृष्ट घोषणा गरेका हुन् ।
वालिङ नगरपालिका शहरी योजना, वातावरण, विपद् जोखिम व्यवस्थापन र उत्थानशीलतामा देशकै सर्वोत्कृष्ट नगर घोषित भएको हो भने रुपन्देहीको तिलोत्तमा नगरपालिका शहरी सुशासन सेवा प्रवाहमा र झापाको कन्काई नगरपालिका आर्थिक प्रशासन तथा राजस्व शीर्षकमा सर्वोत्कृष्ट भई पुरस्कृत भएको हो ।

प्रतिकृया दिनुहोस्