Pokharapatra National Daily

मादीका सातवटा वडामा सुविधा सम्पन्न कार्यालय भवन

कास्की जिल्लाको मादी गाउँपालिकाका बिभिन्न सात वटा वडामा सुविधा सम्पन्न कार्यालय भवन निर्माण गरिएको छ ।
कोरोना भाइरस (कोभिड–१९) कारण मुलुकमा भएको बन्दाबन्दीका बाबजुद पनि स्वास्थ्य सुरक्षा अप्नाएर सात वटा वडामा नयाँ कार्यालय भवन निर्माण गरिएको हो । जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैन बहादुर क्षेत्रको संयोजकत्वमा समन्वयका उपप्रमुख सावित्री भण्डारी, सदस्यहरु, समन्वय अधिकारी नवराज बराल, प्राविधिक, संचारकर्मी सहितको टोलीले बुधबार वडा नं. ८ र ९ को नवनिर्मित कार्यालय भवनको स्थलगत अनुगमन गरेको हो ।
जिल्ला समन्वय समिति कास्कीको ६० प्रतिशत एवम् गाउँपालिकाको ४० प्रतिशतको साझेदारीमा कूल पाँच करोड १७ लाख ७२ हजार ५०९ रुपैयाको लागतमा सात वटा वडा कार्यालय भवन निर्माण गरिएको बताइएको छ । जिल्ला समन्वय समिति कास्कीको मौजुदा कोषको ३ करोड ९ लाख ६३ हजार ५०४ र गाउँपालिकाको २ करोड ७० लाख ९ हजार र १० लाख रुपैयाको लागतमा नयाँ भवन निर्माण गरिएको प्रमुख क्षेत्रीले जानकारी दिए । उनका अनुसार पहिलो तल्लामा पाँच कोठा पक्कि र दोश्रो तल्लामा ट्रष्ट सभा हल सहितको दुई तल्ले चिटिक्क परेका एउटै मोडलमा निर्माण गरिएका भवनमध्ये वडा नं. ४, ५, ८, ९ र १२ का सम्पन्न भई नयाँ कार्यालयबाट वडावासीलाई सेवा प्रदान गरिएको छ भने वडा नं. ६ र ७ का भवन निर्माणको अन्तिम चरणमा पुगेका छन् । १, २, १० र ११ को भने साविकको गाविस भवनबाट सेवा प्रदान गर्दै आएका छन् । साझेदारी कार्यक्रम अनुसार पालिकाको वडा नं. ४ को ७० लाख १६ हजार ६१८ , ५ को ६७ लाख ३६ हजार ५९०।–, ६ को ९३ लाख ८१ हजार ६४४, (७) को ७० लाख २६ हजार ८७६, (८) को ७२ लाख ३० हजार ३४२, (९) को ७२ लाख तीन हजार ६७२ र (१२) को ६९ लाख ७६ हजार ७०७ रुपैयाको लागतमा निर्माण गरिएको हो । टोलीले मादी गाउँपालिकामा संघ, प्रदेश र स्थानीय तहबाट भई रहेका सडक तथा निर्माणधीन इदीखोला, वार्दीखोला , मकैखोला र मादीनदी माथिको धुम्ले पुलको निर्माण अवस्था र गुणस्तरको बारेमा जानकारी लिएको थियो ।
सो अवसरमा समन्वय प्रमुख क्षेत्रीले तोकिएको समय र गुणस्तरीय विकास निर्माणमा कुनै पनि सम्झौता नहुने बताउँदै अनुगमनले विकास निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
अनुगमनका क्रममा निर्माणमा देखिएका कमी कमजोरीलाई नसच्याएसम्म निर्माण व्यवसायीलाई पुरा रकम भुक्तानी दिन नसकिने समन्वय प्रमुख नवराज बरालले बताए । सेवाग्राहीलाई सुविधा दिने कुराका कर्मचारी वर्ग जिम्मेवार हुनु पर्नेमा उनको जोड थियो ।

प्रतिकृया दिनुहोस्